images
images

रसुवा बाढी प्रभावित ९९ प्रतिशत क्षेत्रमा विद्युत सेवा सुचारु भइसक्योः उर्जा मन्त्रालय

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा करिब ९९ प्रतिशत स्थानमा विद्युत सेवा सुचारु भएको उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ।

मंगलबार सिंहदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपदसम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव डा. जगदीश्वर कर्माचार्यले अब रसुवाका करिब ८० घरधुरीमा मात्र विद्युत जडान हुन बाँकी रहेको बताए।

उनले उक्त क्षेत्रमा विद्युत जडान गर्न प्रशारण लाइनसमेत निर्माण गर्नुपर्ने भएकाले तत्काल विद्युत सेवा सुचारु गर्न कठिन भएको उल्लेख गरे। उक्त क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत सौर्य ऊर्जाको व्यवस्था गरिएको कर्माचार्यले बताए।

उनले बाढीले क्षतिग्रस्त भएका जलविद्युत आयोजनाको पुनःनिर्माणका कार्ययोजना निर्माणको काम भइरहेकोसमेत बताए। उनले बाढीले निजी तथा सरकारी क्षेत्रबाट सञ्चालित दर्जन बढी जलविद्युत आयोजनामा ठूलो क्षति भएको विवरणसमेत समितिसमक्ष पेश गरे।

उनले अगामी दिनमा नदी करिडोरका आयोजना जलवायु अुनकूल बनाउनुपर्नेमा जोड दिए।