images
images

खगेन्द्र सुनारको अडियोमा प्रहरी छानबिन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले एक महिलालाई अमर्यादित शब्द प्रयोग गर्दै गाली गरेको भनिएको अडियो सार्वजनिक भएपछि प्रहरीले आन्तरिक छानबिन थालेको छ ।

सुनार र ती महिलाबीच भएको भनिएको आपत्तिजनक संवादको अडियो सोमबार सार्वजनिक भएको थियो । घटनाबारे रास्वपाले पनि आन्तरिक छानबिन अघि बढाएको छ ।

बिहीबार रास्वपाले सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ । पार्टीको अनुशासन आयोगले उनीमाथि छानबिन सुरु गरिसकेको रास्वपाले जनाएको छ ।

अडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले पनि त्यसको सत्यताबारे बुझ्न थालेको हो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले अडियोको सत्यताबारे बुझ्ने काम भइरहेको जानकारी दिए । पक्राउ गरेर अनुसन्धान अघि बढाउन पीडित महिलाको उजुरी आवश्यक पर्ने उनले बताए । महिलाले प्रहरी कार्यालयमा उपस्थित भएर वा अनलाइनमार्फत उजुरी दिन सक्ने उनको भनाइ छ ।

उनका अनुसार महिलाले उजुरी नदिएसम्म प्रहरीले यस विषयमा स्वतन्त्र रूपमा अनुसन्धान अघि बढाउन मिल्दैन । हालसम्म ती महिलाले कुनै पनि प्रहरी कार्यालयमा उजुरी दिएको जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ ।