काठमाडौँ- नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज, सुरक्षित र आधुनिक बनाउने उद्देश्यका साथ ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ।
बैंकले यही असोज २९ गते बिहीबारदेखि उक्त सेवा औपचारिक रूपमा सुरु गरेको हो। ग्राहकहरूले अब बैंकको मोबाइल बैंकिङ एप ‘एनबैंक’ मार्फत नै यो भर्चुअल क्रेडिट कार्ड प्राप्त गरी दैनिक कारोबारहरूमा सहजै प्रयोग गर्न सक्नेछन्।
परम्परागत क्रेडिट कार्ड लिँदा झेल्नुपर्ने लामो कागजी प्रक्रिया र अन्य झन्झटहरूलाई अन्त्य गर्दै यो कार्ड पूर्ण रूपमा डिजिटल स्वरूपमा ल्याइएको हो। बैंकले आफ्नै डेटामा आधारित विश्लेषणात्मक प्रणालीमार्फत योग्य ग्राहकहरूको पहिचान गरी पूर्व–स्वीकृत समेत गरिसकेको छ।
यस्ता योग्य ग्राहकहरूले एनबैंक एपको होमपेजमै देखिने ‘अपलाइ नाउ’ विकल्प छानेर तुरुन्तै कार्ड पाउन सक्नेछन्। यो भर्चुअल कार्ड फोनपे मर्चेन्ट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्नका लागि उपयोग गर्न सकिनेछ।
यस सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्न नबिल बैंक र फोनपे पेमेन्ट सर्भिस लिमिटेडबीच बुधबार औपचारिक समझदारीपत्रमा हस्ताक्षर भएको थियो। सम्झौतापश्चात् ग्राहकहरूले फोनपे मर्चेन्ट क्यूआर भएका विभिन्न व्यापारिक प्रतिष्ठानहरूमा भर्चुअल क्रेडिट कार्डबाट सुरक्षित र झन्झटरहित भुक्तानी गर्न पाउनेछन्।
समझदारीपत्र हस्ताक्षर कार्यक्रममा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले ग्राहकको सहजता नै बैंकको मुख्य प्राथमिकता रहेको बताए।
डिजिटल युगको आवश्यकताअनुसार ग्राहकलाई सकेसम्म शाखा कार्यालयसम्म पुग्नै नपर्ने गरी घरमै बसेर बैंकिङ सेवा उपलब्ध गराउने दिशामा बैंक निरन्तर सक्रिय रहेको र भर्चुअल क्रेडिट कार्ड त्यसैको महत्वपूर्ण हिस्सा भएको उनले उल्लेख गरे।
चार दशकदेखि सेवा दिँदै आएको नबिल बैंकले हाल देशभर २६२ शाखा सञ्जाल र ३१६ वटा एटिएम मेसिनमार्फत २८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा पुर्याउँदै आएको छ। आगामी दिनहरूमा पनि प्रविधिमैत्री तथा ग्राहकमुखी नवीनतम डिजिटल सेवाहरू विस्तार गर्दै लैजाने बैंकले जनाएको छ।









