images
images

देशमा जनतालाई चिमोट्ने र आतंकित पार्ने विवेकहीन प्रवृत्ति बढ्योः दाहाल

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले अहिले देशमा विवेक, विचार र सिद्धान्तभन्दा आवेग, पूर्वाग्रह तथा निरङ्कुश प्रवृत्ति बढ्दै गएको भन्दै सरकारको आलोचना गरेका छन्।

मंगलबार काठमाडौँमा आयोजित नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै उनले जनतालाई चिमोट्ने, भुत्याउने, सबैलाई आतंकित पार्ने विवेकहीन प्रवृत्ति मुलुकमा हाबी रहेको बताएका हुन्।

उनले देशको यही आवश्यकतालाई मध्यनजर गर्दै विवेक, विचार, सिद्धान्त र जनताको देशभक्तिपूर्ण आन्दोलनका पक्षधरहरू एकचोटी फेरि एकताबद्ध हुन जरुरी रहेको बताए। उनले मुलुकलाई सही दिशामा अगाडि बढाउन एकचोटी फेरि नेपाली कम्युनिस्ट पार्टी तयार रहेको उल्लेख गरे।

उनले विभिन्न ठाउँमा पुग्दा आफूहरूमाथि आलोचना र विरोध हुने गरेको स्वीकार गर्दै विगतका कमजोरीको समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए। आफ्ना कमजोरीबारे खुलेर बोल्न र आत्मसमीक्षा गर्न डराउन नहुने उनको भनाइ छ।

उनले भने, ‘यतिबेला देशमा विवेक हराएको, राज्यमा विचार हराएको छ। आवेग, आग्रह, पूर्वाग्रह, निरङ्कुशता, अराजकता, जनतालाई चिमोट्ने, भुत्याउने, सबलाई आतङ्कित पार्ने प्रवृत्ति, विवेकहीन प्रवृत्ति हाबी छ।’