images
images

सरकारको गलत कामको विरोध गर्दा ममाथि षड्यन्त्र रचियो : सभापति थापा

काठमाडौँ – कांग्रेसका सभापति गगन थापाले आफूबाट कुनै गलत काम नभएको दाबी गरेका छन्।

बिहीबार भिडियो सन्देश जारी गर्दै थापाले आफूलाई पक्राउ गर्ने तयारी भएको भन्ने दाबीको खण्डन गर्दै नैतिक धरातलमा उभिएको उल्लेख गरेका हुन्।

पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफ्नो कुनै आर्थिक लेनदेन र अनैतिक संलग्नता नरहेको दाबी गर्दै आफू स्वच्छ नैतिक धरातलमा उभिएको जनाए।
प्रहरी हिरासतमा रहेका इनम सापकोटासँग जोडेर सार्वजनिक भएको अडियोमा आफ्नो नाम जोडिएपछि भिडियो सन्देश जारी गर्दै थापाले आफ्नो हात सफा रहेको र कुनै गलत काम नगरेको जिकिर गरेका हुन्।

थापाले भने, ‘म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको साथी, तपाईंको छोरा, तपाईंको सभापति, कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन । मेरो हातमा दाग छैन, मनमा कुनै कालो छैन, मेरा हात सफा छन्, म्यान एन्ड क्लिन।’

थापाले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी राजनीतिक तथा कानुनी लडाइँमा कुनै आर्थिक लेनदेन नभएको पनि स्पष्ट पारेका छन्। थापाले भने, ‘रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन, कुनै अनुचित काम गरेको छैन, भएको छैन।’

प्रहरी हिरासतमा रहेका इनम सापकोटाको नाममा सार्वजनिक भएको अडियो बोलिएको हो वा बोलाइएको हो भन्ने समेत स्पष्ट नभएको टिप्पणी गरे।

अडियो प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्ने उनको माग छ । ‘अब प्रश्न हामीलाई सोध्ने होइन । प्रश्न जहाँ सोध्नुपर्ने हो, त्यहाँ सोध्ने । इनम सापकोटा अहिले प्रहरीको अनुसन्धानका लागि हिरासतमा छन्, त्यहाँ सोध्ने प्रश्न,’ उनले भने ।

अनुसन्धान निष्पक्ष हुनुपर्ने र यस प्रकरणमा जोडिएका सबै पक्षको भूमिका खोतलिनुपर्ने उनको भनाइ छ ।

अडियो सार्वजनिक भएपछि आफू डराएर विभिन्न राजनीतिक दलका नेताहरूलाई भेट्न थालेको भन्ने चर्चाको पनि उनले खण्डन गरेका छन्। मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकार रहेकाले विश्वासको मत लिनुपर्ने र त्यसका लागि अन्य दलसँग संवाद गर्नुपर्ने राजनीतिक जिम्मेवारीअनुसार प्रचण्ड, उपेन्द्र यादव र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको उनको स्पष्टीकरण छ ।

उनले सरकारलाई पाँच वर्षको जनादेशको सम्मान गर्दै विपद्का कारण घरबारविहीन भएकाहरूको पुनस्र्थापना, सुकुम्बासी समस्या, रोजगारी, लगानी र अर्थतन्त्रको अवस्थालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । सरकारका सही काममा सहयोग गर्ने तर लोकतान्त्रिक अधिकार खुम्च्याउने र संस्थाहरू कमजोर बनाउने प्रयासको प्रतिवाद गर्ने दोहोर्याए।

सरकारका कामकारबाहीमाथि प्रश्न उठाउन थालेपछि आफूहरूविरुद्ध नियोजित भाष्य निर्माण गरिएको थापाको आरोप छ । विगतमा पनि शक्तिशाली सत्ताका गलत काममाथि प्रश्न उठाउँदा आफ्नो चरित्रमाथि प्रहार हुने गरेको भन्दै उनले त्यस्ता प्रयासबाट आफू विचलित नभएको बताए ।

‘मेरो स्वच्छता, इमानदारी र नैतिकतामा कहीँ कतै सम्झौता भएको भए प्रश्न गर्ने आँट आउँथ्यो ? आउँदैनथ्यो,’ उनले भने, ‘म किन बाँचेको छु भने म सफा छु, स्वच्छ छु र ठीक ठाउँमा उभिएको छु ।’

थापाले आफूलाई विश्वास गर्ने समर्थक तथा शुभेच्छुकलाई कुनै गलत काम नगरेको भन्दै ढुक्क रहन आग्रह गरेका छन् ।