images
images

घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई राहत दिन रविको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बिहीबार (कात्तिक २६) मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक गाडी दुर्घटनाका घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले मृतकका परिवारलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन पनि सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

छठ पर्व मनाउन घर फर्कंदै गरेका आमनागरिकले दुर्घटनामा परी अकालमै ज्यान गुमाउनुपरेको घटनाले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको उनले बताएका छन् ।

एउटै बस्ती र टोलमा परेको अकल्पनीय बज्रपातको पीडा शब्दमा व्यक्त गर्न असम्भव रहेको उनले उल्लेख गरेका छन् । उनले दुर्घटनामा ज्यान गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

साथै, शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै उनले दुर्घटनामा घाइते भएका सबै नागरिकको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् ।