काठमाडौँ – मकवानपुरको भीमफेदीमा भएको विद्युतीय सवारीसाधन (ईभी) दुर्घटनामा परी मृत्यु भएका ११ जनाकै पहिचान खुलेको छ।
प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा सवारी चालक सर्लाहीको कबिलासी गाउँपालिका–८ निवासी करिब ३० वर्षीय रविशंकर कुमार मण्डल रहेका छन्।
त्यस्तै, सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरटोलका २६ वर्षीय बिकेश यादव, ३५ वर्षीया पुनम यादव तथा उनका तीन छोरी १० वर्षीया अनु कुमारी यादव, ७ वर्षीया दीक्षा यादव र ५ वर्षीया दीपिका यादवको पनि मृत्यु भएको छ।
दुर्घटनामा सोही गाउँका करिब ३५/३६ वर्षीय गुड्डु यादव, उनकी श्रीमती ३०/३२ वर्षीया गायत्री देवी, २५/२६ वर्षीय राम दुलार यादव, २४/२५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादवले समेत ज्यान गुमाएका छन्।
दुर्घटनामा एकै गाउँका परिवार तथा आफन्तसहित ठूलो संख्यामा मानिसले ज्यान गुमाउनुपरेको छ। छठ पर्व मनाउन काठमाडौँबाट सर्लाही घर फर्किरहेका यात्रु सवार ईभी मकवानपुरको भीमफेदीमा दुर्घटनामा परेको थियो।









