images
images

इजरायलमा रहेका नेपालीको उद्धारका लागि आज राति जहाज पठाइने

काठमाडौं- युद्धग्रस्त इजरायलमा रहेका नेपालीकाे उद्धारका लागि बुधबार राति जहाज पठाइने भएकाे छ।

परराष्ट्र मन्त्रालयका अनुसार आज राति ११ बजे नेपाल एयरलाइन्सको जहाज पठाइने भएकाे हाे।

जहाज दुबई ट्रान्जिट इजरायल प्रस्थान गर्ने मन्त्रालयले जनाएकाे छ।

स्वदेश फर्किन मंगलबार बेलुकासम्म ३५० जना नेपालीले आवेदन दिएका छन्। इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्किन चाहने नेपालीको आवेदन लिइरहेको छ।

परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलका विदेशमन्त्री एली कोहेनसँगको टेलिफोन वार्तामा स्वदेश फर्किन चाहने नेपालीको उद्धारकाे विषयमा कुराकानी गरेका थिए।

इजरायलस्थित नेपाली दूतावासले ‍इजरायल-गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका ५५ जना नेपाली विद्यार्थीहरूलाई इजरायली सुरक्षामा सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको जनाएकाे छ।

सिमाना आसपासमा उद्धारकाे पर्खाइमा रहेका ७२ जना नेपाली विद्यार्थीहरूलाई पनि सुरक्षित ठाउँमा सारिएको छ।

हमास समूहको आक्रमणबाट घाइते भएका चारजनाको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएकाे दूतावासले जनाएकाे छ।

यस्तै, हराइरहेका एक जना नेपाली विद्यार्थीकाे खाेजीकार्य भइरहेकाे छ।

इजरायलवासी सम्पूर्ण नेपाली नागरिकरूलाई संयम रहँदै निरन्तर दूतावाससँग समन्वय र सहकार्य गर्न तथा स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न पनि दूतावासले अनुराेध गरेकाे छ।