त्रिभुवन विमानस्थल भन्सार कार्यालयले कार्गो भवनमा प्रवेशका लागि ‘फ्ल्याप गेट’ सञ्चालनमा ल्याएको छ।
अनधिकृत व्यक्तिको प्रवेश र गलत क्रियाकलाप रोक्नका लागि यो गेट सञ्चालनमा ल्याइएको भन्सार कार्यालयले जनाएको छ।
प्रहरी रिपोर्ट र भन्सार कार्यालयको सिफारिसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट वितरण हुने ‘वाइ’पास बाहकले मात्र यो गेट पार गर्न सक्ने व्यवस्था गरिएको छ।
गत साउन २ गते कार्गो भवनबाट गाडीको व्रेक शु भित्र लुकाई–छुपाई अवैध सुन बाहिरिएपछि विमानस्थल भन्सार कार्यालयले भन्सार यार्ड प्रवेशमा कडाई गरेको बताइएको छ।
उक्त घटनामा अनधिकृत व्यक्तिको प्रवेश देखिएपछि विभिन्न निकायको सिफारिसका आधारमा भन्सार कार्यालयले कार्गो विल्डिङ प्रवेशका लागि फ्ल्याप गेट सञ्चालनमा ल्याएको हो।
त्रिभुवन विमानस्थल प्रवेशका लागि अंग्रेजी अल्फावेट ‘ए’ देखि ‘एल’सम्मको पास उपलब्ध गराइन्छ। कार्गो भवन प्रवेशका लागि भने अंग्रेजी अल्फावेट ‘वाई’पास उपलब्ध गराइएको हो।
नयाँ व्यवस्थाअनुसार त्रिभुवन विमानस्थल प्रवेशका लागि अङ्ग्रेजी अल्फावेट ‘ए’ देखि ‘एल’सम्मको पास उपलब्ध गराइन्छ भने कार्गो भवन प्रवेशका लागि अङ्ग्रेजी अल्फावेट ‘वाई’ पास उपलब्ध गराइन्छ। सर्वसाधारणले आफ्नो मालवस्तु छुटाउन भन्सार क्षेत्रमा प्रवेश गर्नुपरेमा आगन्तुक अनुमतिपत्र (पास) लिइ प्रवेश गर्न पाउने व्यवस्था गरिएको छ। हाल भन्सारका कर्मचारी, भन्सार एजेन्ट र सामान लोड र अनलोड गर्ने श्रमिकलाई मात्र फोटोसहितको पास उपलब्ध गराइएको भन्सार प्रमुख डा टोकराज पाण्डेले बताए।
उनले यसबाट अनधिकृत व्यक्तिको प्रवेश र अवैध सामान आयात अन्त्य हुने अपेक्षाका साथ मापदण्ड तयार पारी पास वितरणलाई व्यवस्थित गरिएको बताए। भन्सार कार्यालयले यसअघि विमानस्थलको यात्रु आवागमनतर्फ बहुमूल्य सामान र विदेशी मुद्राको स्वघोषणा कक्ष सञ्चालनमा ल्याएको थियो।