images
images

लेनदेनलाई सापटी भन्ने गरिदिंदा घुस नै हो भनेर प्रमाणित गर्न कठिन हुने:अख्तियार प्रमुख राई

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मालपोत, यातायात जस्ता कार्यालयमा दिनदहाडै घुस लेनदेन हुने गरेको बताएका छन्।

तर, त्यस्ता लेनदेनलाई सापटी भन्ने गरिदिंदा घुस नै हो भनेर प्रमाणित गर्न कठिन हुने उनको भनाइ छ। बुधबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएका अख्तियार प्रमुख राईले मालपोत कार्यालय, यातायातमा अथवा जहाँतही रकम लेनदेन हुन्छ, त्यो सापटी हो भन्ने हुन्छ त्यसले गर्दा घुस नै हो भनेर प्रमाणित गर्न कठिन हुन्छ।

सर्वोच्च अदालतले स्टिङ अपरेसनलाई मान्यता नदिँदा दिनदहाडै घुस लेन–देन हुँदा पनि आफूहरुले केही गर्न नसकेको उनको भनाइ छ।

राईले भने,‘ विगतमा सेवाग्राहीहरुसँग कर्मचारीले मागेअनुसारको घुस दिने रकम नहुँदा सेवाग्राही अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पुग्ने, आयोगले नै सेवाग्राहीलाई रकम दिने र आयोगले दिएको त्यो रकम सेवाग्राहीले घुस मागेको कर्मचारीलाई दिने गर्दथ्यो। त्यही नै बेला नै आयोगको टोलीले घुससहित रंगेहात पक्राउ गर्दथ्यो।’ अहिले केहि गर्न सकिएन।

त्यस्तै उहाँले अन्तरास्ट्रिय स्तरमा ठूला–ठूला भ्रष्टाचारको डिल भएको थाहा पाएर पनि प्रमाण जुटाउन नसकिएको अख्तियार प्रमुख राईको भनाइ थियो । भ्रष्टाचारको स्वरूप फेरिएर भ्रष्टाचार एउटाले गर्ने तर पैसा अर्कैले बुझ्ने गर्ने प्रवृत्ति बढको भन्दै उहाँले कारोबारको डील एउटाले गर्छ तर लेखनदासले पैसा लिन्छ भन्नुभयो । पैसा बुझ्ने लेखनदासले पैसा कहिले बाँड्छ भन्ने थाहा नहुने पनि उहाँको भनाइ थियो ।

राज्य व्यवस्था समितिको बुधबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन–२०४८ लाई संशोधन गर्न बनेको विधेयक र अख्तियारको काम कारबाहीबारे छलफल भएको थियो ।