images
images

युद्धग्रस्त इजरायलबाट नेपालीको उद्धार गरी विमान राति ९ बजे फर्किने:शव ल्याउन केही ढिलाइ हुने

काठमाडौं- आतङ्कवादी समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन आज बिहान त्यसतर्फ गएको नेपाल एयरलाइन्सको विमान आजै राति ९ बजे फर्किने छ ।

परराष्ट्रमन्त्री एनपी साउद कूटनीतिक समन्वयका लागि नेपाल एयरलाइन्सको विमानमा आज बिहान त्यसतर्फ प्रस्थान गरेका थिए । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार नेपाल फर्कन चाहनेहरुलाई लिन दुई सय ५० सिट क्षमता भएको विमान इजरायल गएको जानकारी दिए ।

उक्त आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने छ जना घाइते भएका थिए । एक जनाको अवस्था अझै अज्ञात छ । इजरायलस्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहनेहरुको विवरण सङ्कलन गरिरहेको छ ।

शव ल्याउन केही ढिलाइ हुने
इजरायल सरकारले हमाससँग युद्धको घोषणा गरेको अवस्थामा ज्यान गुमाएकाको शव हस्तान्तरणमा कानुनी प्रक्रिया पूरा नभएकाले तत्काल शव ल्याउन कठिन भएको छ ।

इजरायल सरकारले शल्यपरीक्षणलगायत सबै कानुनी प्रक्रिया पूरा भएपछि यथाशक्य चाँडो शव ल्याइने प्रवक्ता लम्सालले बताए ।