images
images

प्रतिनिधि सभा बैठकः शून्य समयमा कसले के भने?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य विमला सुवेदीले खाद्यान्नमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

शुक्रबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य सुवेदीले चाडपर्वको समयमा अत्याधिक रुपमा खाद्यान्नको मूल्यवृद्धि भएकोले यसको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन्।

प्रतिनिधि सभा सदस्य भीमप्रसाद आचार्यले स्थानीय तहका कर्मचारी र शिक्षकहरुको समस्यामा सरकार बेखबर रहेको बताए। उनले वीर अस्पतालबाट चिकित्सकहरुलाई अन्यायपूर्ण ढंगले निकालिएको बताए। त्यस्तै, कालोबजारी भइरहँदा पनि सरकार बेखबर बनेको उनको भनाइ थियो।

प्रतिनिधि सभा सदस्य मनिष झाले भूकम्पग्रस्त क्षेत्र बझाङमा यातायातको सरल व्यवस्था गर्न सरकारसँग माग गरे। उनले चाडपर्वको बेलामा सो क्षेत्रमा सहज वातावरण बनाइदिएर राज्य र सरकार छ भन्ने अनुभूति दिलाउनुपर्ने बताए।

प्रतिनिधि सभा सदस्य माधव सापकोटाले नेपालको उत्पादन पद्धतिमा नयाँ ढंगले सोचेर संरचनागत परिवर्तन गर्न आवश्यक भएको बताए। उनले विद्यमान आर्थिक संकट र चुनौतीहरुलाई संरचनागत परिवर्तनमार्फत् आर्थिक क्रान्तिमा बदल्नुपर्ने बताए।

प्रतिनिधि सभा सदस्य रघुजी पन्तले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विजयादशमीको शुभकामना दिँदै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता, नेपाली भूमि र नेपाली जनताको स्वाभिमानको कदर गर्न आग्रह गरे।

प्रतिनिधि सभा सदस्य रणेन्द्र बरालीले दसैँको समयमा हुने गाडी दुर्घटनाप्रति सरकार बेलैमा सचेत हुनुपर्ने बताए। उनले दसैँमा दलित समुदायलाई मन्दिर प्रवेशमा रोक लगाउँदा झडप हुने घटनाहरु आउने भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए।

प्रतिनिधि सभा सदस्य रामहरी खतिवडाले दसैँको समयमा डेंगुको संक्रमण बढेको भन्दै लामखुट्टे मार्नका लागि सरकारले पहल गर्नुपर्ने बताए। उनले नेपाल एयरलाइन्सका टिकटहरु महँगो भएको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए।