images
images

हेलिकप्टर दुर्घटनामा घाइते पाइलट सेढाईँको अवस्था गम्भीर, भारत लैजाने तयारी

काठमाण्डौ – सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका पाइलट प्रकाशकुमार सेढाईँको अवस्था गम्भीर रहेको ह्याम्स अस्पतालले जनाएको छ । अस्पतालले विज्ञप्ति निकालेर उहाँको अवस्था गम्भीर रहेको र परिवार तथा एअलाइन्ससँगको सल्लाहमा थप उपचारको लागि आजै भारतको मुम्बई लैजाने तयारी भएको जनाएको छ ।

पाइलट सेढाईँको मुखको भाग र हातखुट्टा लगायत शरिरको ४५ देखि ५० प्रतिशतसम्म भाग जलेको अस्पतालले जनाएको छ । यस्तै उहाँको फोक्सो, मेरुदण्डको हड्डी र मृगौलामा पनि समस्या रहेको छ । बिहान सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा दुर्घटना भएको हो । हेलिकप्टर लुक्लामा सामान झारेर पर्यटक लिन लोबुचे उडेको थियो । हेलिकप्टरमा पाइलट सेढाईँ मात्र हुनुहुन्थ्यो ।