images
images

प्रहरीको अनुसन्धानमा प्रश्न उठाउने आधार छैनः गृहमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको समृद्धि, समुन्नति र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनुपर्ने बताएका छन्।

६८औँ प्रहरी दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले मुलुकको आन्तरिक सुरक्षा व्यवस्थाको मियोका रूपमा रहेको नेपाल प्रहरीको भूमिका र कर्तव्यबोधले समग्र मुलुकको समृद्धि, कानुनी शासन र सुशासनको पूर्ण अनुभूति गर्न सकिएको बताए।

गृहमन्त्री श्रेष्ठले नागरिकको सुरक्षा सुनिश्चित गर्न चाडपर्वलगायत आफ्नो व्यक्तिगत र पारिवारिक दायित्वलाई थाती राखी देश र जनताको सुरक्षामा तैनाथ प्रहरी कर्मचारीको समर्पणभाव हरेक पुस्ता र पिँढीका लागि प्रेरणाको स्रोतका रूपमा रहने उल्लेख गरे।

उनले साधन स्रोतको अभावमा पनि राज्यले सुम्पेको जिम्मेवारीलाई नेपाल प्रहरीले निष्ठापूर्वक तथा प्रविधिसँग प्रभावकारी मिश्रण गरी छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह गर्दै आएको बताए।

‘आमनागरिक र राज्यले सामना गरेको हरेक विषम परिस्थितिलाई निस्तेज तुल्याउन नेपाल प्रहरीका प्रत्येक सदस्यले पेसागत कर्तव्यपरायणतामा उच्च मनोबलका साथ खटिँदै आएका छन्,’ गृहमन्त्री श्रेष्ठले भने। नवीनतम् आविष्कार र नयाँ प्रविधिको कारण बढ्दै गएका अपराधका नयाँ शैलीविरुद्ध तदारूकता बढाउँदै वर्तमान र भविष्यमा हुने सक्ने अपराधको रोकथाम तथा सफल अनुसन्धान गर्न सक्ने गरी नेपाल प्रहरी हरदम तयारी अवस्थामा रहनुपर्नेमा उनले जोड दिए।

निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिलाउनाका साथै राज्यमा दण्डहीनताको अन्त्य हुने बताउँदै गृहमन्त्री श्रेष्ठले भने, ‘प्रहरीको अनुसन्धानमा प्रश्न उठाउने आधार छैन। कुनै स्वार्थ तथा शक्तिको प्रभाव वा दबाबमा नपरी निष्पक्ष अनुसन्धान कार्यमा नेपाल प्रहरीले सम्झौता गर्दैन भन्ने मेरो पूर्ण विश्वास रहेको छ।’ रासस