images
images

पत्रकारको भौतिक र आर्थिक सुरक्षामा ध्यान दिन आग्रह

काठमाडौँ –अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) एशिया–प्यासिफिकका कार्यकारी सदस्य बद्री सिग्देलले पछिल्लो समय पत्रकारको भौतिक र आर्थिक सुरक्षा चुनौतीपूर्ण बन्दै गएकाले सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने बताएका छन्।

आइएफजे एशिया–प्यासिफिकको कार्यकारी समितिको भर्चुअल बैठकलाई नेपालका तर्फबाट सम्बोधन  गर्दै सदस्य सिग्देलले इजरायल–हमास युद्धको रिपोर्टिङ गर्ने क्रममा ज्यान गुमाएका पत्रकारप्रति दुःख व्यक्त गर्दै बेपत्ता भएका दुई जनाको खोजीको पहल गर्नुपर्ने बताएका हुन्।

उनले युद्धग्रस्त क्षेत्रमा मात्र नभएर सामान्य अवस्था हुँदा पनि पत्रकारमाथि आक्रमण र धम्कीका घटना भइरहेको उल्लेख गर्दै भने, “आजको अवस्थामा पनि विभिन्न स्वार्थ समूहले पत्रकारमाथि आक्रमण गर्ने तथा धम्कीका घटना हुनु दुःखद् कुरा हो। यसलाई नियन्त्रण गर्न पीडक पक्षलाई कारबाहीको दायरामा ल्याउनुपर्छ।”

नेपाल प्रेस युनियका पूर्वअध्यक्षसमेत रहनुभएका आइएफजेका सदस्य सिग्देलले नेपालमा अर्थतन्त्र कमजोर हुँदै जाँदा त्यसको असर आमसञ्चारमाध्यममा पनि परेको बताए। उनले भने, “नेपालको अर्थव्यवस्था धीमा भएसँगै यसको प्रत्यक्ष असर विज्ञापन बजारमा आधारित भएर सञ्चालनमा रहेको आमसञ्चारमाध्यममा परेको छ। जसकारण केही बन्द भएका छन् भने केही बन्द हुने अवस्थामा पुगेका छन्। उक्त मिडिया हाउसमा काम गर्ने पत्रकारले मासिक पारिश्रमिकसमेत पाउन नसकेको अवस्था छ।”

त्यसैगरी सामाजिक सञ्जालका कारण मिसइन्फर्मेसन र डिसइन्फर्मेसनको जोखिम बढेकाले नियामक निकायलाई बलियो बनाउनुपर्ने पनि उल्लेख गर्दै कार्यकारी सदस्य सिग्देलले भने, “अनलाइन समाचार पोर्टलमा भएको सङ्ख्यात्मक वृद्धिलाई गुणात्मक परिणाम ल्याउनका लागि प्रशिक्षण, नियमन र अनुगमनको दायरा बढाउन आवश्यक देखिएको छ।”

त्यसैगरी अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ एशिया–प्यासिफिक अध्यक्ष सविना इन्द्रजितले युद्धग्रस्त क्षेत्रमा आइएफजेको भूमिका उपस्थिति र भइरहेका कार्यक्रमबारे जानकारी गराएका छन्। आइएफजेका महासचिव बिलेङ्गर एन्थोनीले पत्रकारको सुरक्षा मुख्य चासो भएको उल्लेख गर्दै भने, “अहिले मुख्य मुद्दा भनेको युद्धग्रस्त क्षेत्रमा कार्यरत पत्रकारको सुरक्षा नै रहेको छ। हामी दुवै पक्षलाई पत्रकारको सुरक्षामा गम्भीर बनिदिन पनि अपिल गर्दछौँ।”रासस