images
images

गैरआवासीय नेपालीलाई नागरिकता वितरण सुरु , कुल आचार्यले पाए पहिलो नागरिकता

काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई नागरिकता वितरण अभियानको शुभारम्भ गरेको छ । बालुवाटारमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यलाई नागरिकता दिँदै अभियानको सुरुआत गरेका हुन्  ।

उनले पर्वत जिल्ला प्रशासन कार्यालयबाट असोज २८ गते नागरिकताको प्रमाणपत्र पाएका थिए । पर्वतका प्रमुख जिल्ला अधिकारीले प्रधानमन्त्री र प्रधानमन्त्रीले आचार्यलाई नागरिकता प्रदान गर्दै अभियानको सुरुआत गरेका हुन् ।

यस्तै गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष बद्री केसीले पनि नागरिकताको प्रमाणपत्र लिएका छन् । केसीको नागरिकता असोज २९ गते काठमाडौंबाट जारी भएको थियो । गत जेठमा नागरिकतासम्बन्धी ऐन संशोधन भएपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको हो ।

नागरिकता प्राप्त गरेपछि उनीहरूले ईश्वर, देश र जनताको नाममा शपथ लिनुपर्ने छ । गत भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको नेपाल नागरिकता नियमावली तेस्रो संशोधनमा शपथको व्यवस्था राखिएको छ । गत जेठ १७ गते सरकारले नागरिकता ऐनमा गैरआवासीय नेपालीले नागरिकता पाउन सक्नेगरी संशोधन गरेको थियो ।

संशोधित ऐनको दफा ७ (क) मा नेपाली नागरिकता प्राप्त गर्नुपर्ने व्यक्तिलाई तोकिएबमोजिम शपथ गराउनुपर्ने उल्लेख छ।