images
images

एमालेमा ठूलो चिरा परेको प्रचण्डको दाबी, बुद्धि पुर्याए सदूपयोग गर्नसकिने आईडिया सुनाए

काठमाडौं, ३० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) मा ठूलो ठूलो चिरा परेको भन्दै सूदपयोग गर्न सकिने सनसनीपूर्ण टिप्पणी गरेका छन् । प्रधानमन्त्री दाहालले एमालेमा चिरा परेको मात्रै भनेनन्, बुद्धि पुर्याउन सकिए एमालेभित्र खेल्न सकिने पनि आईडिया सुनाए । समाजवादी मोर्चाको धनगढीमा आयोजित हिजो (सोमबार) को सन्देशसभामा मुख्य वक्ताको रुपमा सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।

उनले कांग्रेस र एमालेलाई मिलाई मिलाई ठोक्ने काम गरेको पनि सनसनीपूर्ण टिप्पणी गरे । सम्बोधनको क्रममा दाहालले भनेका थिए,‘हामी मिल्दाखेरि पनि ३२, १२ र १० गरेर जम्मा ५४ हो । नेपाली कांग्रेस एक्लै झण्डै ९० को नजिक छ । एमाले झण्डै ८० को नजिक छ । अनि साथीहरु कहिले बेस्सरी ठोक्नुहोस, ठोक्नुहोस भन्नुहुन्छ । परिस्थिति त्यस्तो छ । मिलाएर ठोकेन भने त आँफै ठोकाई खाईन्छ नि । यो कुरा पनि तपाईँहरुले बुझ्न जरुरी छ । बडो मिलाई मिलाई गइयाछ अहिले । त्यसमाथि ठूला पार्टीभित्रका डाईनामिक्सहरु अर्कै खालको छ ।’

उनले एमालेभित्र चिरा परेको भन्दै थप भनेका थिए,‘एमालेभित्र पनि थाहा पाईराख्नुभएको छ होला, पहिलो चोटी एमालेभित्र ठूला ठूलो चिरा परेको देखिएको छ । हामीले राम्रो बुद्धि पुर्याउने हो भने त्यसलाई राम्रोसँग सदूपयोग गर्ने सम्भावना बढेको छ । अब कांग्रेस त पार्टी हो की पाटी हो, मञ्च हो की मोर्चा हो, बुझिसाध्य छैन् । अस्ति कोशीमा देखिहाल्नुभयो । कोशीमा दुई वटा गठबन्धन बने । हाम्रो एउटा गठबन्धन । एमाले र असन्तुष्ट कांग्रेसको अर्को गठबन्धन । लाजमर्दो । यसलाई के गरी हल गर्ने भनेर दुई दिनसम्म धेरै मेहनत गरियो । र, अन्ततः कांग्रेस सभापति शेरबहादुर देउवा, म र शेखर कोइराला बसेर गठबन्धन केही हुन दिने छैनौं र यसलाई नै बलियो बनाउँछौं भनेर हस्ताक्षर गर्यौं । यत्ति भएपछि ढुक्क भयौं भनेको त एमालेले गरेको चलखेल, त्यहीँ रोकियो भनेको त फेरि अर्को चलखेल भयो । विश्वासको मत लिनुभन्दा अघि एक जना मन्त्री बनाउनु भनेको, फेरि एमालेलाई पनि समावेश गरेर मन्त्रिपरिषद् विस्तारभ यो ।’

प्रधानमन्त्री दाहालले आफूहरु सम्मिलित गठबन्धन पाँचै वर्ष टिक्ने दाबी गरे । उनले भने,‘पाँच वर्ष यही गठबन्धन जान्छ । जति पटक बल गर्छन्, उनीहरु नै त्यतिपटक फसेका छन् ।’