images
images

नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौं– दशैंको चौथो दिन आज (बुधबार) नवदुर्गाका ९ रूपमध्ये कुष्माण्डा देवीको पूजा आराधना तथा दर्शन गरेर मनाइँदै छ। दियो, कलश र गणेशको पूजा गरी ‘कुष्माण्डा’स्वरूपा दुर्गा भवानीको विशेष पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ। 

आज काठमाडौंको गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, शोभाभगवती, नक्साल भगवती, भद्रकालीलगायतका देवीका शक्तिपीठ तथा धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभारा, सप्तरीको छिन्नमस्ता, गोरखाको मनकामना, पोखराको विन्ध्यावासिनी मन्दिरहरूमा विशेष पूजाआराधना हुने गर्छ।

यस दिन पनि घटस्थापनाका दिन राखिएका जमरामा जल सेचन गर्ने र दुर्गा भवानीलाई खुसी पारी शक्ति प्राप्त गर्न ‘ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे’ नवार्ण मन्त्र वा ‘ॐ दुर्गे दुर्गे रक्षिणी स्वाहा’ नवाक्षर मन्त्र १०८ पटक जपी यस दिन पनि दुर्गा सप्तशती या चण्डीपाठ गर्नुपर्ने मार्कण्डेय पुराणमा उल्लेख छ।

माता कुष्माण्डालाई विशेषगरी सेता फलफूल र कपडा चढाइन्छ। कुष्माण्डालाई वैज्ञानिक दृष्टिले सम्पूर्ण रासायनिक शक्तिको स्वरूप मानिन्छ। यस दिन पाँच वर्षकी कन्यालाई ‘रोहिणी’ नामले पूजा गर्ने र कुष्माण्डा देवीलाई विशेष रूपमा कचौरामा मधुपर्क (मह र दही) चढाउने विधि छ।