images
images

बाबा भ्याली पेट्रोल पम्प पछि सशस्त्र प्रहरीको पेट्रोल पम्पमा सिल

काठमाडौं । उपभोक्तालाई कम परिमाणमा इन्धन बिक्री गरेको भेटिएपछि अनुगमन टोलीले हल्चोकस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्पमा सिलवन्दी गरेको छ । र्‍यापिड रेस्पोन्स टिमले मिटर बिगारेर मूल्यभन्दा कम परिमाणमा उपभोक्तालाई पेट्रोल बिक्री गरेको आरोपमा पम्पमा सिल गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा रेस्पोन्स टिमले बुधबार पम्पमा सिल लगाएको हो । र्‍यापिड रेस्पोन्स टिममा प्रधानमन्त्रीको कार्यालयसहित सचिवालय, नेपाल आयल निगम, गुणस्तर तथा नापतौल विभाग र राष्ट्रिय सतर्कता केन्द्रका अधिकारी सहभागी थिए । टोलीले बुधबार नै कलंकीस्थित श्यामा पेट्रोल पम्पमा पनि सिल गरेको छ ।

सोही टोलीले मंगलबार साँझ तीनकुनेस्थित बाबा भ्याली पेट्रोल पम्पमा पनि सिल गरेको थियो । प्रधानमन्त्री कार्यालयमा पम्प सञ्चालकहरुले पम्पको मिटर बिगारेर कम परिमाणमा इन्धन बिक्री गर्दै आएको धेरै गुनासो आउन थालेपछि प्रधानमन्त्री दाहालको निर्देशनमा यस्तो टिम खडा गरी अनुगमन गर्न थालिएको हो ।