images
images

राष्ट्रिय आप्रवासन नीति सङै केहि देशसँग श्रम सम्झौता गर्दै सरकार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालीहरुको संख्या उल्लेख्य भएका देशहरुमा तत्काल राजदूतावास खोल्नुपर्ने अवस्था रहेको बताउनुभएको छ ।

बिहीबार मन्त्रालयमा पत्रकारसँगको भेटघाट गर्दै मन्त्री भण्डारीले नेपालीहरुको संख्या उल्लेख्य मात्रामा रहेका विभिन्न देशहरुमा तत्काल राजदूतावास खोल्नुपर्ने अवस्था रहेको बताउनुभएको हो । उहाँले ति मुलुकहरुमा सरकारको उपस्थिति अनिवार्य गर्नुपर्ने कुरा सरकारलाई महशुस भएको बताउनुभयो ।

मन्त्री भण्डारीले तत्काल दूतावास खोल्ने अवस्था नभएमा ड्राइपोस्टिङ सिस्टमबाट भएपनि सरकारको उपस्थिति दर्ज गर्ने निर्णय भएको पनि बताउनुभयो । त्यस्तै, विद्यमान दूतावासहरुको साधन, स्रोत बढाउनका लागि पनि सरकार लागि परेको उहाँले बताउनुभयो । उहाँले अप्ठ्यारो परेको अवस्थामा दूतावाससँग उद्धार गर्ने सामथ्र्य नरहेकाले अहिले त्यसको लागि कोषको व्यवस्था गरिएको पनि जानकारी गराउनुभयो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकहरूले काम गर्दै आएका छन् । तर, उनीहरूको व्यवस्थापनका विषयमा कुनै नीति बन्न सकेको छैन । यसका लागि सरकारले नीति बनाउन लागेको मन्त्री भण्डारीले बताए ।

‘अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा छ । हाम्रा श्रमिकहरूलाई अन्तर्राष्ट्रिय श्रम बजारको माग अनुसार कसरी बनाउने ? कुन–कुन बजारमा कुन–कुन खालका श्रमिक पठाउने ? गएकालाई कसरी फर्काएर ल्याउने ? उनीहरूले त्यहाँ सिकेको ज्ञान, सीपलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा हाम्रो कुनै नीति छैन । सरकारले त्यसलाई व्यवस्थित गर्न नीति बनाउन खोजेको हो’ मन्त्री भण्डारीले भने ।

मन्त्री भण्डारीले राष्ट्रिय आप्रवासन नीति बनाउनका लागि सरकारले विज्ञहरुको समूह बनाएर काम गरिरहेको पनि बताउनुभयो ।

यस्तै सरकारले स्पेनसहितका विभिन्न देशसँग श्रम सम्झौता गर्ने भएको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयारी थालेको हो । मन्त्रालयले स्पेनसहित पोर्चुगल, साईप्रस, माल्टा लगायतका देशसँग श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

त्यसका लागि दुवै देशका अधिकारीहरूले छलफल गर्ने, सम्झौता पत्रको मस्यौदा तयार पार्ने लगायतका काम भइरहेको श्रममन्त्री शरतसिंह भण्डारीले बताए ।