images
images

बच्चा अमेरिकामा, नेपालबाटै अनलाइनमार्फत न्वारान

ओखलढुङ्गा – बडादसैँको टीकाको साइत सुरु हुँदै गर्दा रामपुरकी यमुना घिमिरे भने अमेरिकामा भएकी नातिनीको न्वारान पूजामा व्यस्त थिए । नातिनी अमेरिकामा भए पनि न्वारान पूजा भने यहाँ भएको घरको आँगनबाटै अनलाइनमार्फत पुरोहित भोला दाहालले गराइरहेका थिए ।

“काखमा नातिनी खेलाउँदै उसको न्वारान पूजा गर्न मन थियो । तर, छोराबुहारी र नातिनी अमेरिकामा, हामी नेपालमा!”, घिमिरेले भने, “अनलाइनबाट भए पनि आफ्नै आँगनबाट न्वारान गर्न पाएँ ।”

डेढ वर्षअघि ‘डाइभर्सिटी भिसा’मा छोराबुहारी अमेरिका गए । नातिनीको जन्म पनि उतै भयो । तर, न्वारान भने गाउँबाटै अनलाइनमार्फत भयो । अमेरिकाको न्यूयोर्कमा रहेका बाबु ज्ञानेन्द्र घिमिरे र आमा रिता दाहाल पुरोहितले अनलाइनमार्फत भने अनुसारको मिल्नेसम्मका क्रियाकलापमा सहभागी भए ।

दसैंको टीकाको दिन भए पनि अनलाइनमार्फत भइरहेको न्वारान हेर्न छिमेकी भेला भएका थिए । सनातन हिन्दू परम्पराअनुसार नै न्वारान कर्म सञ्चालन गरिएको कर्मकाण्डका ज्ञाता युवराज घिमिरेले बताए ।

वैदिक संस्कार, शास्त्रीय मर्म र षोडष संस्कारअनुसार न्वारान गरिएको उनको भनाइ छ । न्वारान कर्ममा सहभागी बिक्रम दाहाल यस क्रियाकलापलाई प्रविधिको विकासले दिएको अवसरका रुपमा लिन्छन् ।

“प्रविधिको विकासका कारण नेपालबाटै अमेरिकामा रहेकी शिशुको न्वारान सम्भव भयो”, उनले भने ।

अनलाइनबाटै भए पनि पनातिनीको न्वारान गर्न पाउँदा आफू अत्यन्तै हर्षित भएको ८७ वर्षीय जिजुआमा ईश्वरीदेवी घिमिरेले सुनाइन् ।

उनले गाउँमा यस किसिमको कर्म पहिलो अनुभव भएको बताइन् ।

पुरोहित भोला दाहालले हिन्दू संस्कार र नेपाली पात्रोअनुसार शिशुको नाम प्रेयङ्का राखिदिए ।

“आफ्नो संस्कार अनुरुप अग्निस्थापना गरी नवजात शिशुको नामकरण विधि सम्पन्न भएको छ,” उनले भने ।

तर शिशुकी आमा रिता दाहाल अमेरिकामा अस्पतालको नियमअनुसार छोरी जन्मनु पाँच दिन अघि नै छोरीको नाम रुहानी राखिएको सुनाइन् ।

“बच्चा जन्मिनु अघिनै डाक्टरलाई नाम दिनुपर्ने रहेछ । जन्मने बित्तिकै डाक्टरले ‘वेलकम रुहानी’ भनेको सुन्दा म अत्यन्तै खुसी भएँ । गर्व महसुस गरेँ”, उनले भनिन् ।