images
images

महाधिवेशनमार्फत नयाँ विचार संश्लेषण गर्छौं : प्रधानमन्त्री प्रचण्ड

कार्तिक ९, रूकुम पश्चिम। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आगामी विशेष महाधिवेशनबाट पार्टीमा नयाँ विचार संश्लेषण गरिने बताउनुभएको छ।

बिहीबार रूकुमको बाफिकोटमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हिजो जनयुद्धको बेला हामीले विचार संश्लेषण गर्यौं, त्यसले पार्टीलाई केन्द्रीकृत गर्यो, विचारमा एकरूपता कायम भयो, संगठनमा एकतासहित गति हासिल भयो। पछिल्लोसमय हामीले विचार संश्लेषणलाई महत्त्व दिन सकेनौं, त्यसले पार्टी विकेन्द्रितजस्तो, विचार र संगठनमा अनेकताजस्तो भएको छ। आगामी विशेष महाधिवेशनमा यो त्रुटिपूर्ण हामी सच्चाउँछौं। नयाँ आधारमा विचार संश्लेषण गर्छौं।”

अभियानको सान्दर्भिकताबारे बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, “हामी रूपान्तरणको प्रक्रियामा छौं। जनताले माओवादी फेरि सच्चिन थालेको जनअभिमत छ। यो नै पार्टी रूपान्तरणको आधार हो। यसकै बलमा सुदृढ पार्टी बनाउँछौं।”

माओवादी बलियो भएन भने परिवर्तनका मुद्दा नै अप्ठ्यारोमा पर्न सक्छ, राजनीतिक प्रणाली र देश नै अप्ठ्यारोमा पर्न सक्छ” प्रधानमन्त्रीले भन्नुभयो, “हामीले नयाँ ढंगले सोच्ने ठाउँमा छौं। सरकार र पार्टी दुवैतर्फबाट नयाँ काम गरिएको छ। एकपछि अर्को अभियानसहित हामी अघि बढ्छौं। हामी जुर्मुराएनौं भने देश नै खतरामा छ। तसर्थ, बलियो पार्टी बनाएर देशलाई निकास दिनेेतर्फ गम्भीर रूपले सोचौं।”
“हामी कमजोर हुनुमा विचार संश्लेषण छोड्नु पनि एक हो। हामी कमजोर हुँदै जाँदा प्रतिक्रियावादीहरू बलियाजस्ता देखिए। उनीहरू यो परिवर्तन उल्टाउन अनेक षड्यन्त्र गरेका छन्। माओवादी पार्टी र आन्दोलनमाथि आक्रमण केन्द्रित छ” प्रधानमन्त्रीले भन्नुभयो, “पार्टी कमजोर हुँदा परिवर्तन कमजोर हुन्छ, परिवर्तन कमजोर हुँदा देश कमजोर हुन्छ, देश अस्तव्यस्त हुन्छ। तसर्थ, परिवर्तनको रक्षा र समृद्धिका लागि हामीले नै अगुवाइ गर्नुपर्दछ।”
“दुनियाँमा ठूलाठूला ध्रुवीकरण देखिएको छ। रूस-युक्रेन, इजरायल-हमास युद्धले तेस्रो विश्वयुद्ध हुनसक्ने खतरा छ। यसलाई हामीले गम्भीरतापूर्वक बुझ्नुपर्छ र नेपालले कुटनीतिक सन्तुलन र असंलग्नतामा जोड दिनुपर्छ” प्रधानमन्त्रीले भन्नुभयो।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “दुुखसुखमा ध्यान दिनुहोला। विकास निर्माणका काममा प्राथमिकता दिनुहोला। यो अभियान सकिएपछि हामी अर्को अभियानमा गएर महाधिवेशनमा जान्छौं। यो सामान्य काम होइन, महान् कामको सुरूवात हो। यो अभियान राष्ट्रको एकताका निम्ति, स्वाधीनताका निम्ति, देशको समृद्धिका लागि, नयाँ विचार संश्लेषणका लागि हो।”
“नेता सच्चिएर मात्रै देशलाई सही गति दिन सकिन्छ। यसको थालनी गरिएको छ। भ्रष्टाचारविरोधी अभियान, अर्थतन्त्रमा सुधार, सामाजिक समृद्धिका काम त्यसको सुरूवात हो” प्रधानमन्त्रीले भन्नुभयो, “फेरि अर्को क्रान्तिको सुरूवात, समाजवादी आन्दोलनको सुरूवातका लागि पनि अभियान हो। फेरि जनतालाई जागृत र संगठित गर्नुपर्छ। समाजवादी आन्दोलनको नेतृत्व हामीले बाहेक अरूले गर्न सक्दैन। तसर्थ, हामी नै यसको नेतृत्व गर्नुपर्छ, हामी जनतासँग सुदृढ सम्बन्ध गाँस्नुपर्छ।”
“रूकुम जिल्लामा उदाहरणीय काम भएका छन्। यसले देशभरिको पार्टीलाई उर्जा दिएको छ। यसलाई बचाउँदै थप उपलब्धि हासिल गर्न लाग्नुपर्दछ” प्रधानमन्त्रीले भन्नुभयो।
“जति दिन प्रधानमन्त्रीको कुर्सीमा रहन्छु, त्यति दिन राम्रो मात्रै गर्छु। जनताको हित र स्वार्थका लागि मात्रै काम गर्छु” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “पार्टीलाई क्रमशः एक्लै चुनाव लड्ने पार्टी बनाउनुपर्छ। त्यसका लागि संगठनमा जोड दिएर जानुपर्छ। अर्को निर्वाचनसम्म अरू पार्टीहरू हामीसँग मिल्नुपर्ने परिस्थिति निर्माण गर्नुपर्छ।”