images
images

परराष्ट्रमन्त्री साउद अमेरिका जाँदै, के-के छन् कार्यक्रम ?

काठमाडौँ – परराष्ट्रमन्त्री नारायणप्रकाश साउद संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणका लागि यही कात्तिक १२ गते त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।

भ्रमणका क्रममा उनले कात्तिक १३ गते वाशिङ्टन डिसीमा अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका अवसरमा उनले युएसएआइडीका प्रशासक सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइट र अमेरिकी सरकारका अन्य उच्चस्तरीय अधिकारीसंग भेटवार्ता गर्नेछन् ।

उनले अमेरिकी कांग्रेस नेपाल ककसका सहअध्यक्ष कांग्रेस सदस्य माइक केरीसँग पनि भेटवार्ता गर्नेछन् ।

भ्रमणका क्रममा मन्त्री साउदले युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिसको कार्यक्रम, नेपाली–अमेरिकी व्यवसायी समुदायसँगको अन्तर्क्रिया, सूचना प्रविधि सल्लाहकार सञ्जालसँगको भेटघाट, गैरआवासीय नेपाली सङ्घका प्रतिनिधि र नेपाली–अमेरिकी व्यवसायीसँगको अन्तर्क्रियामासमेत सहभागिता जनाउने भएका छन् ।

नेपाली प्रतिनिधिमण्डलमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालय र वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासका वरिष्ठ अधिकारीका साथै नेपालस्थित एफएनसीसीआई र अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष रहनेछन् ।

परराष्ट्रमन्त्री साउद कात्तिक १९ गते काठमाडौँ फर्कने कार्यक्रम छ ।