images
images

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ चीन प्रस्थान

काठमाडौँ : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आज चीन प्रस्थान गरेका छन्। चीनको सर्वोच्च जनअदालतका प्रधानन्यायाधीशको निमन्त्रणमा श्रेष्ठ नेतृत्वको टोली ७ दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेको हो।

भ्रमणका क्रममा प्रधानन्यायाधीश श्रेष्ठले कात्तिक १५ देखि १७ गतेसम्म चीनको सर्वोच्च अदालतको अवलोकन गर्ने सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए। भ्रमण दलले चीनका प्रधानन्यायाधीश तथा अदालतका उच्च अधिकारीहरूसँग औपचारिक भेटघाट गर्नेछ।

भ्रमण टोली चाइना ल सोसाइटीको आयोजनामा चीनको छिन्जियाङमा कात्तिक १२ देखि १४ गतेसम्म हुने सेन्ट्रल एसिया एण्ड साउथ एसिया लिगल फोरमको कार्यक्रममा पनि सहभागी हुनेछन्।

भ्रमणदलमा प्रधानन्यायाधीश श्रेष्ठसहित उनकी श्रीमती रोशनी अमात्य श्रेष्ठ, सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र उनकी श्रीमती पुष्पा भट्टराई, सर्वोच्चका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र शाखा अधिकृत नवीनकुमार यादव सहभागी छन्। भ्रमण टोली कात्तिक १७ गते स्वदेश फर्कनेछ।