images
images

सेना र प्रहरीले विश्वशान्तिका लागि खेलेको भूमिकाप्रति गुटरेसले गरे प्रसंशा

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नेपाल (नेपाली सेना र प्रहरी) ले विश्वशान्तिका लागि खेलेको भूमिकाप्रति मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

आइतबार चार दिने नेपाल भ्रमणमा आएका महासचिव गुटरेस र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच नेपालको शान्ति प्रक्रिया, मौसम परिवर्तन र नेपालले विश्व समुदायमा शान्तिप्रक्रियामा खेलेको भूमिकाबारे छलफल भएको छ ।

भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले भेटवार्ता सौहाद्रपूर्ण वातावरणमा दुईपक्षीय हितकाबारेमा कुराकानी भएको बताए ।  ‘नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा छ । यसलाई टुंगोमा पुर्याउन राष्ट्रसंघको भूमिका आवश्यक छ’, प्रचण्डले भने, ‘भेटवार्ता बडो सौहार्दपुर्ण वातावरणमा दुईपक्षीय हित र राष्ट्रिय अन्तराष्ट्रिय महत्वका विषयमा विश्वासका साथ छलफल भयो ।’

भेटपछि प्रधानमन्त्री प्रचण्डले आफु खुसी र सन्तुष्ट रहेको बताए । ‘किनभने नेपालको राजनीतिक उत्तरचढाव र नेपालको शान्ति प्रक्रिया र मौसम परिवर्तनको असरबारे पनि उहाँलाई धेरै कुरा थाहा छ । नेपाल (नेपाली सेना र प्रहरी) ले विश्वशान्तिका लागि खेलेको भूमिकामा उहाँले मुक्तकण्ठले प्रशंसा गर्नुभयो’,

प्रधानमन्त्री प्रचण्डले क्लाइमेट चेन्जका कारण परेको असरबारे गम्भीर रुपमा छलफल भएको बताए । ‘मौसम परिवर्तनका विषयमा हामीले गम्भीर रुपले चर्चा गर्यौ र नेपालमा मौसम परिवर्तनको नकारात्मक परिणाम छ त्यसलाई कम गर्नका लागि अन्तराष्ट्रिय समुदाय त्यसमा पनि संयुक्त राष्ट्रसंघको महासचिवको हैसियतले उहाँले खेलेको भूमिकाको उच्च प्रसंशा गर्यौ’, प्रचण्डले भने, ‘आउने दिनमा अझ ठुलो सहयोगको अपेक्षा गर्यौ ।’ त्यसैगरी प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटरेसबीच नेपालको शान्ति प्रक्रियाका बारेमा समेत छलफल भएको छ ।

‘नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा छ । त्यसलाई टुंगोमा पुर्याउन पनि अन्तराष्ट्रिय समुदाय र संयुक्त राष्ट्र संघको महासचिवको हैसियतले उहाँको महत्वपूर्ण भूमिका हुने कुरा पनि हामीले गर्यौ’, प्रचण्डको भनाइ छ ।