images
images

मुगु हत्याकाण्ड : डीआईजी ढकाल नै घटनास्थलमा

सुर्खेत । तीन सन्तानसहित आमाको सामूहिक हत्या भएको विषयमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको प्रहरीले घटनाको नजिक पुगेको बताइरहेको छ । शनिबार बिहानदेखि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको हो ।

उक्त विषयको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) भीम प्रसाद ढकाल पनि घटनास्थलमा पुगेका छन् । उनी आइतबार बिहान मुगु पुगेका हुन् ।

मुगुको मुन्दुगाउँस्थित एकै परिवारका चार जनाको हत्या भएको घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ । जिल्लाको छायाँनाथ रारा नगरपालिका–६ को मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्या भएको थियो ।

घटनाको बारेमा जिल्लाको प्रहरीसँग विशेष छलफल गर्न आफू मुगु पुगेको उनले बताए । साथै उनले अनुसन्धानमा सघाउने र अहिले अनुसन्धान टोलीको प्रगति बुझ्ने काम भइरहेको बताए । बुधबार साँझ नै उक्त घटना घटेको भनिएपनि प्रहरीले शुक्रबार बिहान मात्रै थाह पाएको थियो ।

 

परिवारका सबै सदस्यको शव घर भित्रनै फेला परेको छ । उक्त परिवारका एक जना दीप बहादुर बोहरा भने जोगिनुभएको छ । उहाँ वैदेशिक रोजगारीका लागि कतारमा गएको  प्रहरीले बताएको छ ।

आठ महिने नाबालक रहर बोहरासहित चार जनाको हत्या भएको हो । २७ वर्षीया आमा  श्रीदेवी बोहरा, छोरी ११ वर्षीया मनहरा बोहरा र सात वर्षीया अप्सरा बोहरा घरभित्रै  मृतक अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।