मर्यादाक्रम तोक्ने विधेयकमा दलहरुबीच सहमति, काठमाडौंका मेयरको मर्यादाक्रम १७औं स्थानमा

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन समितिले राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ ।

समितिको सोमबार बसेको बैठकले मर्यादाक्रमहरुमा नयाँ ब्यवस्थासहितको विधेयक पारित गरेको हो । उक्त विधेयक मंगलबार बस्ने राष्ट्रियसभाको बैठकमा पेस गरिने भएको छ । विधेयकमा अति विशिष्ट व्यक्तिहरु राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई सम्माननीय सम्बोधन गर्ने प्रस्ताव गरिएको छ ।

यस्तै, संघीय सरकारका मन्त्रीहरु, सांसदहरु, प्रदेश प्रमुख, प्रदेशमा मूख्यमन्त्री, प्रदेश सभामुख तथा मन्त्रीहरु, प्रतिनिधिसभाका उपसभामुख, सर्वोच्च अदालतका न्यायाधीशहरु, संवैधानिक निकायका प्रमुखहरु महान्यायाधीवक्ता, पूर्व अति विशिष्ट पदाधिकारीहरुलाई माननीय सम्बोधन गर्ने प्रस्ताव छ । विदशी राष्ट्रप्रमुख, नेपाली राजदूत, नेपालस्थित विदेश राजदूत, राष्ट्रसंघ तथा सार्क महासचिव, अन्तर्राष्ट्रिय क्षेत्रीय संगठनका पदाधिकारी तथा नेपालस्थित विदेशी कन्सुलर जनरलहरुलाई महामहिम भन्न प्रस्ताव गरिएको छ ।

नेपालको राष्ट्रिय झण्डा र गान कहाँ कसले कति बेला प्रयोग गर्ने भन्ने ब्यवस्था पनि विधेयकमा गरिएको छ । जस अनुसार अति विशिष्ट ब्यक्तिदेखि प्रदेश सरकारका मन्त्री तथा उपसभामुखसम्मले राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने छन् ।

यस्तै, मर्यादा क्रममा विपक्षी दलका नेताको हैसियत प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्ष बराबर हुने व्यवस्था गरिएको छ । विधेयकमा काठमाडौंका मेयरको मर्यादा क्रममा भने कैंची चलाइएको छ । ११औं स्थानमा रहेको काठमाडौंका मेयरको मर्यादा क्रमलाई अन्य महानगरका मेयर सरह १७औं स्थानमा झारिएको छ ।

महानगरपालिकाका मेयरहरु भन्दा अघि जिल्ला समन्वय समितिका प्रमुखहरुलाई राख्ने प्रस्ताव गरिएको छ । यस्तै, विश्वविद्यालयका प्राध्यापकदेखि विद्यालयका शिक्षकहरुको समेत मर्यादा क्रम तोकिएको छ ।