images
images

मैलै केपीजीको सहमतिमा नै जनयुद्ध दिवसको विदा दिने निर्णय गरेको हुँ, अहिले आएर ओलीजीले झुटो कुरा गर्न मिल्छ ? : प्रधानमन्त्री दाहाल

काठमाडौं, १४ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्ता गठबन्धन पाँच वर्षसम्म नै टिक्ने दाबी गरेका छन् । उनले वर्तमान गठबन्धन पाँच वर्ष नै टिक्ने र कसैले चाहेर पनि गठबन्धन भत्काउन नसक्ने दाबी गरेका हुन् । आज (बुधबार) राति ८ः०० बजे प्राइम टिभीबाट प्रसारण हुने जनता जान्न चाहन्छन् कार्यक्रमको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा यस्तो दाबी गरेका हुन् ।

उनले आफू सरकारको नेतृत्वमा आएपछि सबै देशसँग सन्तुलित विदेश सम्बन्ध कायम गरेको दाबी गरे । भारतीय समकक्षीय नरेन्द्र मोदीसँग पनि आफ्नो राम्रो सम्बन्ध रहेको उनको दाबी छ । चीन र अमेरिकासँग पनि राम्रो सम्बन्ध रहेको प्रधानमन्त्री दाहालको भनाई छ । उनले चीनको बीआरआईअन्तर्ग नेपालले ऋण नलिने बरु अनुदान लिने बताएका छन् ।

सो क्रममा उनले आफू र कांग्रेस सभापति शेरबहादुर देउवावीच सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै आफूहरुबीचको सम्बन्ध कसैले पनि तोड्न नसक्ने जिकिर गरे । उनले भने,”म र देउवाजीको सम्बन्ध तोड्ने कोही जन्मिएको छैन् । यो गठबन्धन मजबुद छ ।”

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मोर्चागत रुपमा सहकार्य गरिएपनि पार्टी एकता अब असम्भव भएको टिप्पणी गरे । एमालेसहितको सरकार हुँदा आफूले ओलीसँग सल्लाह गरेर नै फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको प्रधानमन्त्री दाहालको भनाई छ । उनले भने,”मैलै केपीजीको सहमतिमा नै जनयु दिवसको दिन विदा दिने निर्णय गरेको हुँ । अहिले आएर ओलीजीले झुटो कुरा गर्न मिल्छ ? त्यतिवेला मैले उहाँसँग सोधेको थिएँ, उहाँले हुन्छ भनेर भनेको हो । आफू सत्तामा हुँदा ठीक भन्ने अनि बाहिरिएपछि बेठिक भन्ने ? म जनयुद्ध दिवसको बारेमा सबैसँग बहस गर्न तयार छु ।”

फरक प्रसंगमा उनले माओवादीले मंसिर २२ गतेबाट संघर्ष गर्ने घोषणा गरेको कार्यक्रमलाई आन्दोलनको रुपमा भन्दापनि जनपरिचालनको रुपमा लिन आग्रह गरे । उनले पाँच दलीय गठबन्धनमा सबैसँग आफ्नो राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि राम्रो सम्बन्ध रहेको सुनाए । उनले तत्काल कुनैपनि कम्युनिष्ट पार्टीसँग एकता नहुने जिकिर गरे ।

तस्विर : प्रदीप राज वन्त/प्रम दाहालको सचिवालय