images
images

शान्ति प्रक्रियाका बाँकी काम पीडित केन्द्रित भएर टुंगो लगाउनुपर्छः ओली

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई पीडित केन्द्रित भएर टुंगो लगाउनुपर्ने बताएका छन्।

बुधबार चाडपर्वको अवसर पारेर पार्टीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीमाझ उनले पीडितलाई न्याय दिएर शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउनुपर्ने बताएका हुन्।

अध्यक्ष ओलीले शान्ति प्रक्रियाका बाँकी काम दलहरुले सहमतिका साथ टुंग्याउनुपर्ने पनि बताए। सर्वोच्च अदालत र विश्व मानव अधिकार परिषद्को सुझावलाई शान्ति प्रक्रिया टुंगो लगाउँदा ध्यान दिनुपर्ने उनको भनाइ थियो।

अध्यक्ष ओलीले शान्ति प्रक्रियाको टुंगो लगाउने काममा ढिलाइ भएको स्वीकार गर्दै अब ढिलाइ गर्न नहुने पनि बताए। उनले भने,‘शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउनु पर्छ। एकदम राम्ररी टुंग्याउनु पर्दछ। सहमतिका साथ टुंग्याउनु पर्छ। र भिक्टिम सेन्ट्रिक भएर टुंग्याउनु पर्छ।’