images
images

तरमाराहरुको खुसीका लागि शान्ति प्रक्रिया टुंग्याएको बहानाबाजी गर्न सकिँदैनः ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा सुरु गरेको दिनलाई विजयोत्सव मनाउनेहरुको खुसीका लागि शान्ति प्रक्रिया टुंग्याएको बहानाबाजी गर्न नसकिने बताएका छन्।

बिहीबार संसद भवनमा बसेको संसदीय दलको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले हिंसा मच्चाउने र अन्याय गर्नेहरु नै आज न्यायाधीश बनेर सरकारको साँचो बोकेर शान्ति प्रक्रिया टुंग्याउन भनेर लागेको बताए।

उनले क्रुर हत्या गर्नेहरुले पीडित परिवारको मुद्दालाई क्रान्ति भनेर मुद्दा नै नचलाइएको भन्दै आपत्ति जनाए। उनले हिंसा सुरु गरेको दिनलाई उत्सवको रुपमा मनाउने प्रवृत्तिबाट कसरी शान्ति प्रक्रिया टुंगिन्छ? भन्दै प्रश्न गरे। उनले शान्ति प्रक्रिया पीडितलाई न्याय दिने गरी हुनुपर्ने बताए।

उनले भने, ‘हिजो जसले हिंसा मच्चायो, जसले अन्याय गर्‍यो, उनीहरु नै अहिले न्यायाधीश बनेका छन्, सरकारको ताला साँचो लिएर कस्सिएका छन्, शान्ति प्रक्रिया टुंग्याउन भनेर। गंगा अधिकारी अहिले पनि अनसनमै हुनुहुन्छ। उनका श्रीमानको लास अस्पतालमा छ। त्यो लास उठाउन कुनै ध्यान छैन, यो सरकारलाई। उनको छोरो माओवादीले घिसारीघिसारी बोरामा हालेर दुई वटा मोटरसाइकलले घिसारेर मारेको छ। त्यो मुद्दा एउटा फौजदारी मुद्दा नभएर क्रान्ति हो भनेर त्यो मुद्दा नचलाएको छ। कसरी न्याय हुन्छ? तिनै मानिसहरु अहिले सरकारमा छन्।’

उनले थपे, ‘संवेदनशीलता विल्कुल देखिँदैन, उल्टै हिंसा सुरु गरेको दिनलाई उत्सवको रुपमा मनाउँछन्, महान दिवस हो भनेर। बिदा दिइएको छ। एक पटक होइन, अब सधैँ हरेक वर्ष। हिजोको हिंसाप्रति, हिजो मानिस अनावश्यक ढंगले मारिए त्यसप्रति कुनै पनि चिन्ता छैन। यस्तो मनोदशाले शान्ति प्रक्रिया कसरी सफल होला? शान्ति प्रक्रिया पीडितलाई न्याय दिनेगरी हुनुपर्छ। विजयोत्सव मनाउनेहरु तरमाराको खुसीका लागि शान्ति प्रक्रिया टुंग्याएको बहानाबाजी गर्न सकिँदैन।’

अध्यक्ष ओलीले सरकार संविधान मिच्ने, बहुमतको घमण्ड गर्ने र अहंकार देखाउने काममा लागेको बताए। उनले स्वेच्छाचारी राज चलाउने, बलमिच्याइँ गर्ने कुरामा अहिलेको सरकार लागेको छ भन्ने कुरा रिगल ढकाललाई सर्वोच्च अदालतले आज दिएको आदेशले पनि पुष्टि गरेको बताए।