images
images
images

माथिल्लो अरुण आयोजना निरीक्षण गर्न अर्थमन्त्री र ऊर्जामन्त्री संखुवासभामा

संखुवासभा : संखुवासभामा निर्माण हुन लागेको एक हजार ६१ मेगावाटको माथिल्लो अरुण आयोजना निरीक्षण गर्न  अर्थमन्त्री र ऊर्जामन्त्री संखुवासभा आइपुगेका छन्।

शुक्रबार बिहान हेलिकप्टरमार्फत अर्थमन्त्री डा.प्रकाशशरण महत र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत सहितको टोली भोटखोला आइपुगेको हो।

टोलीमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विश्वबैंक निर्देशक लगायतको टोली पनि भोटखोला आएको आयोजनाका वरिष्ठ सहायक ग्रीष्म भण्डारीले बताए।

माथिल्लो अरुण आयोजना निर्माणको जिम्मा नेपाल विद्युत् प्राधिकरणले पाएको छ। आयोजनाले प्रभावित क्षेत्रमा मुआब्जा समेत वितरण गरिसकेको छ। आयोजना प्रभावित क्षेत्रका ७८८ कित्तामध्ये ६९९ कित्ता काट गरिसकेको छ। आयोजनाका लागि भोटखोलामा दुई हजार ५०० रोपनी जग्गा अधिग्रहण गरिएको छ।

जलविद्युत् आयोजनाको अनुमानित लागत दुई अर्ब २६ करोड रुपैयाँ बढी छ। सन् २०२४ को मध्यदेखि जलविद्युत् आयोजनाको निर्माण शुरु हुनेछ। हाइड्रोपावर निर्माण शुरु भएको ६ वर्षभित्र सम्पन्न गर्ने योजना छ।

आयोजनाको ३० प्रतिशत पुँजी र ७० प्रतिशत स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थासँग कर्जा जुटाउने बताइएको छ।