कास्की । एसियाली विकास बैंक (एडिबी)ले कास्कीको पोखरामा थप परियोजनामा सहयोग गर्ने भएको छ । पोखराको पर्यटन, पूर्वाधार विकास, ढल निकासलगायत क्षेत्रमा सहयोग गरेको बैंकले थप परियोजनामा लगानी गर्ने चाहना राखेको हो ।
एडिबीको सहयोगमा पोखराको ढल निकास, सडक, फुटपाथ र सडक सुधार परियोजनाअन्तर्गत सडक सुरक्षा उपायहरूको योजनासहित विद्यमान सडक र ढलको स्तरोन्नति गर्ने यसअघि नै सम्झौता भइसकेको छ । महानगरका अनुसार एडिबीले पोखराका विभिन्न परियोजनामा आर्थिक सहयोग गर्ने भएको छ । त्यस्ता परियोजना छनोट भइसकेका छन् । जसअन्र्तगत सहिदचोक–तीनकुने–राधाकृष्णमार्ग–एसओएस–घलेचोक–हरियो खर्क–पिआइए आठ किमी आठ सय मिटर सडक सुधार योजनालाई अन्तिम रूप दिइएको छ । यसका लागि पाँच दशमलव ३४ मिलियन अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ ।
पञ्चासे पारिस्थितिक विकास र पहुँच परियोजनाअन्तर्गत दमदमेबाट भन्ज्याङसम्मको १३ किलोमिटर सडक कालोपत्र, भन्ज्याङबाट पञ्चासेसम्म बाटोको स्तरोन्नति, सुविधासहितका सर्भिस प्वाइन्ट स्थापना, विद्यमान घरबास (होमस्टे)को एकीकृत प्रवर्द्धन योजना र गुरुङ सङ्ग्रहालयको संरक्षणका लागि तीन दशमलव पाँच मिलियन अमेरिकी डलर खर्च हुनेछ । पञ्चासे एक सयभन्दा बढी प्रजातिका अर्किड र पोखरी रहेको एक प्रसिद्ध तीर्थस्थल र संरक्षित वन क्षेत्र हो ।
एडिबीकै सहयोगमा ‘लेक टु लेक’ साइकल ट्रयाक र फेवाताल सुधार परियोजनासमेत सञ्चालनका क्रममा रहेको छ । परियोजनाअनुसार नौवटा ताल र १८ वडालाई जोड्ने गरी ८५ किलोमिटर लामो साइकल ट्रयाक निर्माण हुनेछ । फेवाताल सुधार परियोजनाअन्तर्गत बसाइ व्यवस्थापन, शौचालय, वाटर फाउन्टेन, वाटर स्प्रिङ प्रोटेक्सन, इन्फरमेसन बोर्ड, डाइरेक्सन बोर्ड, साइकल पार्किङ, सर्भिस प्वाइन्टसहित साइकल स्ट्यान्डको निर्माण गरिनेछ । यसमा तीन दशमवल पाँच मिलियन अमेरिकी डलर खर्च हुने महानगरले जनाएको छ । रानीवन इको ट्रेल र फेवाताल सुधार परियोजनाअन्तर्गत ड्यामसाइटबाट रानीवनलाई सिसाको पुलले जोड्ने, शान्ति स्तूप र फेवातालको परिधिलाई एकीकृतरूपमा जोड्दै रानीवनबाट इको ट्रेल विकास गर्ने योजना छ ।रासस