images
images

भूकम्प अपडेट: मृत्यु हुनेको संख्या १५४ पुग्यो

सिमकोट- जाजरकोटमा गएराति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५४ पुगेको छ।

पछिल्लो प्राप्त तथ्यांकअनुसार जाजरकोटमा ९२ र रुकुम-पश्चिममा ६२ जनाको मृत्यु भएको हो।

घाइतेको संख्या डेढ सयभन्दा माथि पुगिसकेको छ।

भूकम्पमा परी गम्भीर घाइते भएका रुकुम-पश्चिमका तीन जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल, सुर्खेत ल्याइएको हो।

रुकुम-पश्चिमको आठबीसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीले भूकम्पमा परी आफ्नो नगरपालिकामा मात्र ५२ जनाको मृत्यु भएको बताइन्।

आठबीसकोटमा ६० जना घाइते भएका छन्। तीमध्ये गम्भीर ३ जनालाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल, सुर्खेत लगिएको छ।

उद्धार र क्षतिको विवरण संकलन जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताइएकाे छ।

गए राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो।