images
images

प्रभावितलाई सहयोगमा कुनै कमी हुन दिइँदैन: गृहमन्त्री

विभिन्न राहत सामाग्रीसहित मन्त्री र सांसद टोलीको नेतृत्व गर्दै भूकम्प प्रभावितको उद्धार, खानपिन, बसोबास, राहत तथा उपचारबारे जानकारी लिन जाजरकोट सदरमुकाम खलंगा आइपुगेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रभावित जनतालाई सहयोग गर्ने सन्दर्भमा कुनै कमी हुन नदिइने बताएका छन्।

सुरक्षा संयन्त्र र जनप्रतिनिधिलाई सदरमुकाम र गाउँ दुबैतिर उत्तिकै परिचालित हुन समेत उनले निर्देशन दिए। उद्धारको काम लगभग सकिएकोले अब राहत, बसोबास, खानपिन र उपचारमा केन्द्रित हुन जरुरी रहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो।

पीडित र प्रभावित परिवारहरूले सरकारले तत्काल उद्धार पहल गरेर राज्य हुनुको अनुभूति दिलाएको बताएका थिए। पीडित र प्रभावितको समग्र जानकारी लिएपछि उपस्थितहरूलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नगद एवम् जिन्सी राहत वितरण, खानपिन, बसोबास र उपचारमा कुनै कमी हुन नदिइने तथा पुनर्निर्माणको योजना तत्काल बनाइने समेत बताए।

उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको टोली यसपछि पश्चिम रुकुम पुग्नेछ। टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत, ऊर्जा मन्त्री शक्ति बस्नेत, सांसद एवम् माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा लगायत छन्।