images
images

आरती शाहको परिवारलाई वार्तामा आउन गृह मन्त्रालयको आग्रह

काठमाडौँ । धनुषामा मृत अवस्थामा फेला परेकी आरती शाहको परिवारलाई गृह मन्त्रालयले वार्तामा आउन आग्रह गरेको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वकीय सचिव विजय गौतम सोमबार संवादका लागि आग्रह गर्न माइतीघर मण्डलास्थित धर्नास्थलमा पुगेका हुन् ।

आरती शाहको धनुषामा मृत्यु भएको थियो । मृत्यु शंकास्पद भएको र अनुसन्धानको क्रममा धनुषाका एसपी विश्वराज खड्का सहितका प्रहरी अधिकृतहरुले कुटपिट गरेको पीडित परिवारले दाबी गरेका छन् । खड्का सहितका प्रहरी अधिकृतहरुलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै शाहका बुवा र आमासहित परिवारका सदस्यहरु १ सय ४४ दिनदेखि काठमाडौँमा धर्ना बसिरहेका छन् । यसबारे प्रहरीका डिआईजी विकाशराज खनाल नेतृत्वका टिमले छानबिन गरिरहेको छ ।

आरतीको हत्या गरेको आरोपमा प्रहरीले उनको श्रीमान् र ससुरालाई पक्राउ गरेको थियो । उनीहरु अहिले पुर्पक्षका लागि थुनामा छन् । आम जनता पार्टीका कार्यालय सचिव रन्जु कुमारी शाहको पहलमा गृह मन्त्रालय र पीडित परिवारको बीचमा संवादको सुरुवात भएको बताइएको छ ।