राष्ट्रपति पौडेल जाजरकोट अस्पतालमा घाइतेहरूसँग

काठमाडौ-राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन्। राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन्।

घाइतेहरूले उपचार,खाद्यन्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गरेका थिए। उनले भुकम्प प्रभावितहरूलाई आवश्यक बासोबास, खाद्यन्नलगायत सबै कुराको प्रवन्ध हुने र त्यसका लागि आफुले सरकारसँग कुरा गर्ने बताएका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

राष्ट्रपतिको भनाई उदृत गर्दै सल्लाहकार पोखरेलले भने,‘तपाईहरूका लागि अल्पकालीन र दीर्घकालीन आवश्यकताको पहिचान गरी सोको व्यवस्था हुन्छ। चिन्ता गर्न पर्दैन। म सरकारसँग कुरा गर्छु।’ सो अवसरमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिका बारेमा जानकारी गराएका थिए।

त्यस्तै घाइतेहरूको अवस्थाका बारेमा जिल्ला अस्पतालका चकित्सकहरूले पनि जानकारी गराएका थिए। गत शुक्रबारराति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति पौडेल सुर्खेतबाट जाजरकोट पुगेका हुन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेल सदरमुकाम खलङ्गा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठविसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्दारको अवस्थाका बारेमा जानकारी लिनेछन्।

भूकम्पपछिको अवस्था अनुकुल नभएको भन्दै राष्ट्रपति पौडेलले २२ कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण सोमबार स्थगन गरेका थिए।

राष्ट्रपति पौडेलका साथमा उपप्रधान एवम् रक्षामन्त्री पुर्णबहादुर खड्का, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापति सहभागी छन्।