images
images

गणतन्त्रलाई सबल बनाउन भूमिका खेल्ने शीर्ष नेताको प्रतिबद्धता

मुलुकको राजनीतिक परिवर्तनका लागि एकताबद्ध भएर सङ्घर्ष गरेका राजनीतिक दलका शीर्ष नेतृत्वले जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई थप मजबुद बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा सिंहदरबारमा बाह्रबुँदे सहमति, शान्ति प्रक्रिया र संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका दलका नेताबीच गणतन्त्रलाई सुदृढीकरण गर्दै अघि बढ्ने सहमति भएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

शीर्ष नेताले दलहरुबीच आपसी मतभेद भए पनि एकताबद्ध हुँदै लोकतन्त्रको सुदृढीकरण गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको उनले बताए। बैठकमा सहभागी दलका नेताहरुले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि भइरहेका आक्रमणको समीक्षा गर्दै प्राप्त उपलब्धिलाई सबल बनाउन आगामी दिनमा बुहपक्षीय र द्विपक्षीय छलफल गर्दै अघि बढ्ने सहमति गरेको उनको भनाइ छ।

‘शान्ति, संविधान र व्यवस्थाप्रति जसरी आक्रमण र भड्काउने प्रयास भएको छ त्यसबारेमा सबै दलका नेताहरूले धारणा राख्नुभयो’, बैठकमा सहभागी एमाले सचेतक महेश बर्तौलाले भने, ‘ विशेष गरी व्यवस्था जोगाउने कुरामा सबैको एक मत देखियो ।’

त्यसक्रममा एमालेले भने सरकारको कामकारबाही सन्तोषजनक नरहेको भन्दै सरकारको कार्यशैली परिवर्तन गर्नुपर्ने धारणा राखेको थियो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई  ,लोसपाका शिर्ष नेता  शरत सिंह भण्डारी लगायतका नेताहरूको उपस्थिति रहेको थियो । छलफलमा सहभागी दलहरुले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नेताहरूले बलियो प्रतिबद्धता व्यक्त गरेका थिए ।

बैठकपछि माओवादी नेतृ पम्फा भुसालले परिवर्तनकारी राजनीतिक दलका नेताहरु खासगरी कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुले गणतन्त्र, संघीयता र संविधानप्रति प्रतिबद्ध रहेको धारणा राखेको भन्दै त्यसका लागि अागामी दिनमा एकताबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धता जनाएकाे बताइन् ।

‘यदाकदा, छिटपुट, पानीको फोकाजस्तो विभिन्न कोणबाट देखा परेका प्रहारहरु छन् तिनको मिलेर प्रतिवाद गर्ने सबैको अभिमत रह्यो’, भुसालको भनाइ छ ।

उनले परिवर्तनको रक्षा र विकास गर्ने कुरामा प्रतिबद्धता जनाएको भन्दै जनतालाई प्रभावकारी सेवा प्रवाह गर्नुपर्नेमा सबैको जोड रहेको बताइन् ।