ललितपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले १६ वर्षदेखि पास हुन नसकेका स्वास्थ्य क्षेत्रका सबै रणनीति पास भइसकेको बताएका छन् ।
स्वास्थ्य मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित ‘सुआहारा बहुक्षेत्रीय पोषण कार्यक्रम’अन्तर्गत दोस्रो चरणको सिकाइ तथा उपलब्धिको समीक्षा कार्यक्रममा उहाँले आफू स्वास्थ्य मन्त्री भएर आएपछि स्वास्थ्य क्षेत्रको सुधारका लागि गरेको प्रयासबारे जानकारी गराउँदै धेरै सुधारमा काम गरे पनि अझै धेरै काम गर्न बाँकी रहेको बताए ।
जनताको सेवामा स्थापित स्थानीय पालिकाका स्वास्थ्य संस्थालाई आवश्यक पर्ने स्वास्थ्य उपकरण मन्त्रालयले प्राथमिकता दिएर उपलब्ध गराउने मन्त्री बस्नेतको भनाइ थियो । उनले स्वास्थ्य क्षेत्रमा थाहा नभएको/नजानेको काम विज्ञसँग सिक्नुपर्ने भन्दै मन्त्रालयले एक दिनमा कम्तीमा एउटा मात्रै भए पनि राम्रो काम गर्नुपर्छ भन्ने मान्यताका साथ अघि बढेको बताए ।
स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव दिपेन्द्ररमण सिंहले सुआहारा परियोजना स्वास्थ्य क्षेत्रको एक सफल कार्यक्रम भएको बताए । यो परियोजनाले तीन सय ८० भन्दाबढी स्थानीय तहका नागरिकको घरदैलोमा पुगेर जनस्वास्थ्यको विषयमा सचेत गराउन सकेको बताउँदै उनले सरकार र नागरिकलाई जोड्न कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको धारणा राखे ।
स्वास्थ्य सेवा विभागकी महानिर्देशक सङ्गीता कौशल मिश्रले सुआहारा कार्यक्रमले महिला स्वास्थ्य स्वयंसेविकामा सकारात्मक प्रभाव पारेको भन्दै नेपालको स्वास्थ्य प्रणालीमा सुधार ल्याएको बताए ।
राष्ट्रिय योजना आयोगका सामाजिक विकास महाशाखा सहसचिव डा किरण रुपाखेतीले कार्यक्रम नेपालको स्वास्थ्य क्षेत्रलगायतका क्षेत्रमा काम गर्ने एक भरपर्दो साझेदार भएको बताए । सन् २००६ देखि सुरु भएको यो परियोजनाको दोस्रो चरणको कार्यक्रम सम्पन्न भएको बताउँदै उनले तेस्रो बहुपक्षीय पोषण कार्यक्रम परियोजनाको ड्राफ्ट गरेर मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पठाइएको जानकारी दिए ।रासस