रेशम चौधरीको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी र राष्ट्रपति कार्यालयको बिरुद्ध दायर भएको मुद्दामा बिहीबार अन्तिम सुनुवाइ हुँदैछ।

टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराका पत्नी शारदा कडायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुन लागेको हो। उनले गत जेठ १६ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

सर्वोच्च अदालतले समेत दोषी ठहर गर्दै जिल्ला अदालत र उच्च अदालतको फैसला सदर गरे पनि सरकारले उनलाई कैद माफी दिने निर्णय गरेकाे थियाे।

कडायतले दायर गरेकाे रिटमा पहिलो सुनुवाइ जेठ २३ गते भएको थियो।

आज पेसीमा रहेको उक्त मुद्दा सुनुवाइको पालो आए आजै फैसलाकाे लागि बहस हुनसक्ने देखिएकाे छ।

गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर नरसंहारका प्रमुख योजनाकार भनिएका रेशमलाल चौधरीलाई बाँकी कैद मिनाहा दिने निर्णय गरेका थिए।

उक्त निर्णयपश्चात् राष्ट्रपति पाैडेलकाे चाैतर्फी आलाेचना हुँदै आइरहेकाे छ।

जन्मकैद भएका चौधरीलाई सरकारले १३ वर्ष कैद मिनाहा दिएको छ।