images
images

अदालतले चाैबीसै घन्टा खोल्न आदेश दिएपछि लेकसाइडका पर्यटन व्यवसायी उत्साहित

पर्यटकीय सहर पोखरास्थित लेकसाइडका व्यवसायी उच्च अदालत पोखराको आदेशपछि उत्सुाहित भएका छन्। अदालतले पर्यटकीय नगरी पोखराको मुख्य केन्द्र लेकसाइड चौबीसै घण्टा खोल्न बुधबार आदेश दिएसँगै उनीहरूमा खुसी छाएको हो।

उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले लेकसाइडमा भएका व्यापार व्यवसाय चौबीसै घण्टा खोल्न दिन जिल्ला प्रशासन कार्यालय कास्कीलाई अन्तरिम आदेश दिएको थियो।

व्यापार, व्यवसाय गर्न रोक नलगाउन मागसहित स्थानिय देवीकुमारी बरालले दिएको रिट निवेदनउपर भएको बहसपछि न्यायाधिश भट्टराईले यस्तो आदेश दिएकाे हो।

आदेशमा कानुनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्नु नगराउनू भनिएको छ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले लामो समयदेखि पर्यटन व्यवसायीले उठाएको आवाजको सम्बोधन भएको प्रतिक्रिया दिए।

‘हामी निकै आजित भइसकेका थियौं, पटक पटक प्रहरी प्रशासन, राज्य संयन्त्रलाई यसबारे जानकारी गराउँदै आएका थियौं। आज बल्ल माग सम्बोधन भएको छ। अब कार्यावन्यनको पर्खाइमा छौं’, उनले भने

प्रहरीले १० बज्न नपाउँदै सिठी लगाएर होटल रेष्टुराँ बन्द गर्न आउने गरेका कारण खाना खाँदै गरेका पाहुना मुखामुख गर्नुपर्ने स्थिति सिर्जना हुने गरेको थियो।

‘अदालतको आदेशले अब राहत मिलेको छ’, अध्यक्ष श्रेष्ठले भने।

उनले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै यहाँको पूर्वाधार विकासलाई पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक सुरक्षासहित पर्यटनमैत्री वातावरणका लागि राज्यले सहजीकरण गर्नुपर्नेमा जोड दिए।

रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराका कार्यवाहक अध्यक्ष विश्वराज पौडेलले उच्च अदालतको आदेश व्यवसायी र पर्यटकमैत्री भएको बताए।

‘यो आदेश स्वागतयोग्य छ, लेकसाइडमा आउने पर्यटक आनन्दले घुम्ने तथा मनोरञ्जन लिन चाहन्छन, यसअघि उनीहरूलाई बाधा पुगेको थियो’, उनले भने

अदालतको आदेशलाई प्रभावकारीरूपमा कार्यान्वयन गरेर पोखरालाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रूट्पठमा विकास गर्न तीनै तहका सरकारले चासो र प्राथमिकता दिनुपर्ने अध्यक्ष पौडेलले बताए।

यसैगरी, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले अदालतको आदेशले व्यवसायीको मनोबल बढाएको बताए।

‘व्यवसायीले जोखिम मोलेर पर्यटन क्षेत्रमा लगानी गरेका छाैं। तर राज्य पर्यटनमैत्री बन्न नसक्दा जोखिम बढिरहेको छ, यो आदेशले उत्साह थपिएको छ’, उनले भने।

आदेशपछि तालको सुन्दरतासँगै लेकसाइड आसपासका रात्रीकालीन दृश्यसहित मनोरञ्जन लिनबाट अब पोखरा आउने पर्यटक वञ्चित हुनु नपर्ने अध्यक्ष सुवेदीको भनाइ छ।

पर्यटन बहुआयामिक क्षेत्रसँग जोडिएको हुनाले हरेक पक्षबाट पर्यटकको सहजतासहितको आतिथ्यताको खाँचो हुने भएकाले सम्बन्धित निकाय जिम्मेवार भएर यो क्षेत्रको प्रवर्द्धन गर्नुपर्ने उनले बताए।

गृह प्रशासन सुधार कार्ययोजनामा ठमेल, दरबारमार्ग, पोखराको लेकसाइडजस्ता पर्यटकको अवागमन बढी हुने क्षेत्रमा २४ घन्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने उल्लेख छ। रासस