images
images

प्रचण्डको दाबी : जनयुद्धलाई कसैले दबाउन सक्दैन

काठमाडौँ।  प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धलाई कसैले दबाउन नसक्ने बताएका छन् ।

बिहीबार पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’ को लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले जनयुद्धलाई जति दबाउन खोजे पनि पटक–पटक उठिराख्ने बताएका हुन् ।

उनले जनयुद्धलाई दबाइए चिहानबाट भए पनि फेरि उठ्ने बताए । ‘मलाई के लाग्छ भने पृथ्वीनारायण शाहको एक खालको कर्म पछिको ठुलो कर्म नेपाली जनताले अगाडी ल्याएको त्यहीँ ९जनयुद्ध० नै हो । त्यसलाई अहिले जति दबाउन खोजे पनि इतिहासमा पटक–पटक त्यो उठिराख्छ’, प्रधानमन्त्रीले भने, ‘त्यो चिहानबाट फेरि उठ्छ । किनभने हजारौँ मान्छेहरूले आफूखुसी बलिदान गरेको आन्दोलनलाई कसैले दबाएर अहिले एकछिन दबाइयो भनेपनि फेरि उठ्छ त्यो । ’

उनले कार्ल मार्क्सले महान् उद्देश्यको निम्ति समर्पित भएर त्याग गर्ने सहिदहरू कहिल्यै नमर्ने भनेको स्मरण गर्दै अहिले एकछिन दबाइएर चिहानमा पुरिए पनि चिहानबाट फेरि ती जाग्ने र जिउँदा मान्छेका निम्ति प्रेरणा भएर फेरि आउने बताए । ‘ती हजारौँ सहिदहरू कहिल्यै पनि दबिने छैनन्’, प्रचण्डको भनाइ छ ।

प्रधानमन्त्री दाहालले जनयुद्ध पृथ्वीनारायण शाहको राज्य एकीकरणपछि दोस्रो ठुलो जनताको तहबाट भएको विद्रोह र पहलकदमी भएको भन्दै सोही कारण आफूले शाहको जन्म जयन्तीका दिन बिदा दिने निर्णय गर्न आँट गरेको बताए ।  कार्यक्रममा बोल्दै पूर्व उपराष्ट्रपति पुनले पुस्तकमार्फत आफ्नो राजनीतिक संलग्नता र उतारचढावहरूको बारेमा उल्लेख गरिएको बताए ।

उनले १२ बुँदे समझदारीप्रति भ्रम फैलाइएको भन्दै सो समझदारीको सम्बन्धमा स्पष्ट कुरा पुस्तकमा उल्लेख गरिएको पनि बताए । नेपालको शान्ति प्रक्रियाको सम्बन्धमा अनमिनले खेलेको भूमिकाका बारेमा पनि पुस्तकमा उल्लेख गरिएको पुनको भनाइ  छ ।  पुस्तकमा जनयुद्धकालमा अध्यक्ष प्रचण्डदेखि अन्य नेताहरू सँगको आफ्नो सम्बन्ध, राजनीतिक भूमिकाहरूको पनि पुस्तकमा चर्चा गरिएको पुनको भनाइ छ ।