रास्वपाले मंसिर पहिलो साता घरदैलो कार्यक्रम गर्ने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मंसिर २, ३, ४ गते देशव्यापी घरदैलो कार्यक्रम गर्ने भएको छ ।

बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णय सुनाउँदै महामन्त्री मुकुल ढकालले ०७९ मंसिरमा भएको चुनावपछिको घरदैलो कार्यक्रम गरिने जानकारी दिए ।

“चुनावपछि पनि घरदैलो हुनुपर्छ । हुन त हामी जनतासँगै छौँ । तर, मंसिर २, ३, ४ गते चुनावपछिको घरदैलो कार्यक्रम राखेका छौँ,” उनले भने ।

त्यस्तै, बैठकले मंसिर ११, १२, १३ गते महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राखिएको उनले बताए ।

यसअघि, कात्तिक २२, २३ गते राखिएको बैठक भूकम्पका कारण सारिएको थियो । बैठकमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

उक्त बैठकमा महाधिवेशनबारे छलफल हुने उनले बताए । तर, महाधिवेशन प्रक्रिया आजैदेखि सुरु भएको मान्न सकिने ढकालको भनाइ छ । बैठकमा चुनावको एक वर्षको समीक्षा पनि गरिने उनले बताए ।