images
images

मुगु सामूहिक हत्या प्रकरणका आरोपित सार्वजनिक गरिँदै

काठमाडौं– मुगुमा भएको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरिने भएको छ। शुक्रबार पत्रकार सम्मलेन गरेर हत्या आरोपमा पक्राउ परेकालाई सार्वजनिक गर्न लागिएको हो।

कर्णाली प्रदेशका डीआईजी भीमप्रसाद ढकाल समेत अहिले मुगु पुगिसकेका छन्। प्रहरीले यो हत्या प्रकरणमा पक्राउ परेका व्यक्तिको विवरण सार्वजनिक गरेको छैन।

मुगुको छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँमा आमासहित उनका ३ सन्तानको हत्या भएको थियो। मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज, ८ वर्षीया छोरी अप्सरा र ८ महिनाका छोरा रहरको शव घरभित्रै फेला परेको थियो। धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा उनीहरुको शव भेटिएको थियो।

मृतक श्रीदेवी छोराछोरीसहित कात्तिक ७ गते नै दशैंको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिइन्। माइतीबाट टीका, जमरा लगाइसकेपछि उनी ८ गते बेलुका नै घर फर्किएकी थिइन्। सोही राति सामूहिक हत्या गरिएको हुनसक्ने प्रहरीले बताएको छ।

मृतकका श्रीमान् दिपक बोहोरा वैदेशिक रोजगारीमा कतारमा थिए। घटनापछि उनी घर आइसकेका छन्। मृतक सबैको अन्तिम संस्कार भइसकेको छ।

एकै परिवारका ४ जनाको सामूहिक हत्या प्रकरणको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समेत डीएसपी धर्मराज भण्डारीसहितको टोली मुगु पठाएको थियो।