images
images

भूकम्पका ३६ घाइते अझै अस्पतालमा, बिदामा पनि स्वास्थ्य मन्त्रालयले समन्वय गर्ने तोकियो फोकल व्यक्ति

तोकियो फोकल व्यक्ति

 

काठमाडौँ : यही १७ गते जाजरकोटमा गएको भूकम्प र त्यसपछिका पराकम्पहरूबाट भएका घाइतेमध्ये हाल ३६ जना अझै अस्पतालमा उपचाररत रहेका छन्।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले जाजरकोट अस्पतालमा ३ जना, प्रादेशिक अस्पताल सुर्खेतमा ९ जना, भेरी अस्पताल नेपालगन्जमा १४ जना, शिक्षण अस्पताल काठमाडौँमा ८ जना र राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा २ जना गरी ३६ जनाको उपचार जारी छ।

अन्य घाइते उपचारपछि घर फर्किसकेका छन्। मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी भूकम्पपछि झाडापखाला, रुघाखोकी, इन्फ्लुएन्जा, स्क्रब टाइफसलगायत किटजन्य तथा दुषित पानी र खानाजन्य रोगहरू देखिन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरेको छ।

विपद्का बेला बालवालिका, गर्भवती र सुत्केरी महिला, ज्येष्ठ नागरिक, दीर्घरोगी, अपाङ्गआदि स्वास्थ्यका हिसाबले जोखिम समूहमा पर्ने भएकाले मन्त्रालयले प्रतिकार्यका बेला उक्त रोगको रोकथाम र जोखिम समूहकालाई प्राथिमकता दिन अनुरोध गरेको छ।

कर्णाली प्रदेश र स्थानीय पालिकाहरूसँगको समन्वयमा किटजन्य, पानीजन्य, र खोपसँग सम्बन्धित रोगहरूप्रति निगरानी तथा समिलियन्स र प्रभावित स्वास्थ्य संस्थाहरूको भौतिक मूल्यांकनका लागि भूकम्पस्थलमा टोली परिचालन गरिसकेको मन्त्रालयले जानकारी गराएको छ।

स्थानीय र प्रदेशका स्वास्थ्य निकायहरूसंग निरन्तर सम्पर्क र समन्वय गरिरहेको र बिदाका समयमा पनि यस संघीय मन्त्रालयमा सम्पर्क र समन्वय गर्न प्रवक्ता डा. प्रकाश बुढाथोकी (९८५१२५५८३८), वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुंगाना (९८५१०६२५७५) र शाखा अधिकृत बद्रीराज ढकाल (९८५१२६४५५५ ) लाई तोकिएको मन्त्रालयले जानकारी गराएको छ ।

साथै कुनै जिज्ञासा, सुझाव वा घटनाका बारेमा जानकारी दिन परेमा प्रवक्ताको इमेल [email protected] वा स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रको इमेल heocmohp.gmail.com मा इमेल गर्न सकिने जानकारी गराएको छ।