images
images

टिकटकलाई रोक लगाउने निर्णयविरुद्ध सर्वोच्चमा ६ रिट, सोमबार प्रारम्भिक सुनुवाइ हुने

काठमाडौं- सामाजिक सञ्जाल टिकटकलाई रोक लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

कार्तिक २७ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेको टिकटक बन्द गर्ने निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा शुक्रबार ६ वटा रिट निवेदन दर्ता भएका छन् ।

अधिवक्ता स्वागत नेपाल, अधिवक्ता सुनिल रन्जन सिंह, जगन्नाथ दुलाल, दिनेश त्रिपाठीलगायत ६ शुक्रबार रिट पेश गरेका हुन् ।दर्ताका लागि सर्वोच्चमा सात रिट पुगेपनि आज शुक्रबार भएका कारण अधिवक्ता बाबुराम अर्यालले बैंकमा रकम तिरेर भौचर बुझाउन नसक्दा उनको रिट दर्ता हुन नपाएको हो ।

टिकटकबाट सामाजिक सद्‍भाव बिगार्ने काम गरेको बताउँदै गत कार्तिक २७ गते बसेको मन्त्रिपरिषदको बैठकले त्यसलाई बन्द गर्ने निर्णय गरिएको थियो ।

टिकटक बन्द गर्ने सरकारको निर्णयको विषयमा यतिबेला टिकटक प्रयोगकर्ताबीच मात्र नभएर राजनीतिक वृतमा पनि चर्को बहस भइरहेको छ।