images
images

जलवायु परिवर्तन जीविकोपार्जनमा गम्भीर खतरा :प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तन मानवताका लागि गम्भीर खतरा बनेको बताएका छन् । ग्लोबल साउथ समिटमा सम्बोधन गर्दै उनले नेपालजस्ता जलवायु संवेदनशील मुलुकले जलवायु परिवर्तनको भार झेलिरहेका बताए ।

“हिमालयमा जलवायु परिवर्तनको प्रभावले हाम्रो क्षेत्रमा बसोबास गर्ने लाखौँ मानिसहरूको जीवन र जीविकोपार्जनमा गम्भीर खतरा खडा गरेको छ,” उनले भने, “निर्धारित महत्वाकांक्षालाई समयसीमामा पूरा गर्न हामी सबै प्रतिबद्ध हुनुपर्छ ।”

प्रधानमन्त्री प्रचण्डले पेरिस सम्झौताको प्रभावकारी कार्यान्वयनमा पूर्ण प्रतिबद्धता जनाएका छन् । यस्तै उनले नेपालले प्राकृतिक स्रोतहरूको संरक्षण र दिगो व्यवस्थापन, प्रभावकारी अनुकूलन र न्यूनीकरणका उपायहरू र हरियालीलाई प्रवर्द्धन गर्दै सन् २०४५ सम्ममा नेट–शून्य उत्सर्जनमा पुग्ने लक्ष्य राखेको बताए ।

प्रधानमन्त्री प्रचण्डले विश्वले सामना गरिरहेका चुनौतीहरूलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायले शान्ति, प्रगति र समृद्धिको साझा लक्ष्यमा केन्द्रित हुनुपर्ने आफ्नो विश्वास रहेको बताए ।  यसका लागि विश्वासको निर्माण, साझेदारी र सहकार्य प्रवर्द्धन र एकताका साथ काम गर्नुपर्ने उनले बताए ।

उनले ‘ग्लोबल साउथः टुगेदर फर वन फ्यूचर’ विषयवस्तुमा आधारित भ्वाइस अफ द ग्लोबल साउथको यो महत्वपूर्ण दोस्रो शिखर सम्मेलनमा सहभागी हुन आमन्त्रित गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिए ।