कार्यालय चाबहिलका तत्कालिन हाकिम सुन्दर भट्टराईले १ करोड १५ लाख २९ हजार १९३ रकमको स्रोत देखाउन नसक्दा अकुत मुद्दा खेपिरहेका छन् । यस्तै, ईशनाथ नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध १ करोड ५० लाख, जनार्दन शर्मा अर्थमन्त्री हुँदा मध्यराती अर्थ मन्त्रालयमा पसेर विनोद चौधरीजस्ता मारवाडी व्यापारीको हित हुने गरी करको दर हेरफेर गर्ने डन सुब्बा रघुनाथ घिमिरेसँग २ करोड १४ लाख ९६ हजार अकुत सम्पत्ति छ भन्छ, अख्तियार ।
रसुवा भन्सारका तत्कालीन हाकिम दानबहादुर केसीले २ करोड १० लाख १० हजार अकुत सम्पत्ति जोड्दा चाबहिल मालपोतबाट भूमि आयोगमा सिफ्ट भएका गणेश पोखरेलले १ करोड ६ लाख ३३ हजार ३३९ अवैध धन सम्पत्ति जोडेको भेटिएको छ । माओवादी चार मन्त्रीका पिए गुल्मीका भीमकान्त भण्डारीले साढे ६ करोडको भ्रष्टाचार मुद्दा चले पनि विशेष अदालतबाट १२ लाख रुपैयाँ धरौटीमा छुटकारा पाएका छन् ।
माओवादी मन्त्रीहरू जनार्दन शर्मादेखि बर्षमान पुनसम्मको आशीर्वाद पाएका मानबहादुर बिकेले जागिर खाएको ९ वर्षमा झण्डै १५ करोड थुपार्न सफल भए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गायब ३३ केजी सुन प्रकरणमा जोडिएका नासु हुन् श्यामकृष्ण च्यामु श्रेष्ठ । त्यहींका अर्का नासु रेवन्त खड्का ९ किलो सुन काण्डमा मुछिएका छन् । यस्तै, दुर्मा गाउँपालिकाका शिवराज उपाध्यायले सार्वजनिक सेवामा रहँदा आर्जित १ करोड १० लाख ६७ हजारको स्रोत देखाउन सकेका छैनन् । सबै कर्मचारी भ्रष्ट छैनन् तर एउटा कुहेको माछाले सिंगो पोखरी दुर्गन्धित बनाउँछ भनेजस्तै केही भ्रष्टाचारीले गर्दा सार्वजनिक प्रशासनले दिनप्रतिदिन बदनामी कमाउँदैछ । उसो त विराटनगर वाणिज्य कार्यालयमा हुँदा घुस खाने एक कर्मचारी अहिले लोकसेवा आयोगको आयुक्त छन् । अख्तियारमा नियुक्त आयुक्त पनि सबै चोखा छैनन् । बिचौलियाले उठाउने पाँच–दश हजारमा समेत भाग खोज्नेले कसरी घटाउन सक्लान् भ्रष्टाचार ?