images
images

ओलीको आरोपः राष्ट्रपति र प्रधानमन्त्री संविधान सिध्याउने कुरामा लाग्नुभएको छ

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको प्रतिनिधिको रुपमा काम गरिरहेको आरोप लगाएका छन्।

राष्ट्रपतिले तनहुँमा पुगेर कांग्रेसमा भोट हालेकोमा धन्यवाद दिएको र भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पनि कांग्रेसको प्रतिनिधिको रुपमा पुगेको ओलीको जिकिर थियो।

पार्टीको जनसंगठन समन्वय संयन्त्रद्वारा शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित आयोजित विशेष भेलामा बोल्दै उनले राष्ट्रपति पौडेलको सुरुदेखि नै पदिय निष्पक्षतामाथि प्रश्न उठेको दाबी गर्दै अलोकतान्त्रिक, पक्षपातपूर्ण र संविधान सिध्याउने काममा लागि परेको बताए।

संविधानअनुसार राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल दुवै नचलेको अध्यक्ष ओलीको भनाइ थियो। ओलीले भूकम्प पीडितको राहतमा खटिएका सेना र प्रहरीको काम गर्न नदिने गरी किन जाजरकोट जानुपरेको? भनि राष्ट्रपति पौडेललाई प्रश्नसमेत गरे।

उनले भने,’ ‘राष्ट्रपतिज्यूले तनहुँमा गएर घण्टीको यत्रो बिगबिगी भएको बेला कांग्रेस भोट दिएकोमा धन्यवाद दिन्छु भन्ने भाषा बोल्नु भयो। कांग्रेसलाई भोट दिएकोमा, रुखमा भोट हालेकोमा उहाँले धन्यवाद दिनु भयो। कति निष्पक्ष राष्ट्रपति होला। उहाँको निष्पक्षताको त कुरे नगरौँ। उहाँको सम्बन्धमा थुप्रै कुराहरु आइसकेका छन्। एक वर्ष पुग्नुभन्दा अगाडि नै राष्ट्रपतिले आफ्नो क्रियाकलापहरु देखाइसक्नुभएको छ।’

ओलीले थपे,’अलोकतान्त्रिकता, पक्षपातपूर्ण, उहाँलाई संविधानको मतलव छैन। सुरुदेखि नै अथवा संविधानअनुसार सरकार चल्नुपर्ने, संविधानअनुसार देश चल्नुपर्ने, संविधानअनुसार राष्ट्रपति चल्नुपर्ने, संविधानअनुसार प्रधानमन्त्री चल्नुपर्ने, संविधानअनुसार राज्यका निकायहरु चल्नुपर्ने। तर, संविधान सिध्याउने कुरामा उहाँहरु लाग्नुभएको छ,’

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल र सरकारका मन्त्रीहरुले भूकम्प प्रभावित क्षेत्रमा गएर माओवादीका अध्यक्ष र मन्त्रीहरुको रुपमा काम गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे।