images
images

राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्न चाहने सबै निर्णायक संघर्षमा जुट्न कमल थापाकाे आह्वान

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्न चाहने सबै एउटै मोर्चामा आबद्ध भै निर्णायक संघर्षमा जुट्न आह्वान गरेका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत् अध्यक्ष थापाले यस्तो आह्वान गरेका हुन्।

उनले अहिले विभिन्न दल, व्यक्ति र समुह राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा उभिएको र संघर्ष गर्न तयार भएको देख्दा खुसी लागेकाे पनि उल्लेख गरेका छन्।

साथै अध्यक्ष थापाले प्रजातन्त्र वा दलहरूको विकल्प राजसंस्था नभएकाे जनाउँदै राजनीतिक दल र विचार अटाउने व्यवस्था मात्र नेपाल र नेपालीको हितमा हुने पनि बताए।

उनले लेखेका छन्, ‘२०६३ सालको कहालीलाग्दो अवस्थामा हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको एजेण्डा बोकेर हिड्ने एकमात्र दल राप्रपा नेपाल हो। संख्याको कमिले संविधानसभाबाट राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्न नसकेता पनि जनताको अभिमतबाट हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना गर्न सक्ने संवैधानिक अधिकार सुनिश्चित गर्ने कामको श्रेय समेत राप्रपा नेपाललाई रहेको छ। यहि अधिकारको कारण राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा आवाज उठाउने र स्थापना गर्ने हक जनताले पाएका छन्। अहिले विभिन्न दल, व्यक्ति र समुह राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा उभिएको र संघर्ष गर्न तयार भएको देख्दा हामीलाई खुसी र गौरवको अनुभूति हुन्छ। राजसंस्था र हिन्दुराष्ट्र स्थापनाको निम्ति जोसुकै दल वा समुहबाट भएका र हुने प्रयास र कार्यमा राप्रपा नेपालको नैतिक समर्थन रहने छ। विगतमा हामीबाट पनि केही कमजोरी र त्रुटि भएका छन्। विगतको अनुभवबाट पाठ सिकेर राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्न चाहने सबै एउटै मोर्चामा आबद्ध भै निर्णायक संघर्षमा जुट्न राप्रपा नेपाल आह्वान गर्दछ। राजसंस्था र हिन्दुराष्ट्र स्थापनाको मुद्दालाई सत्ता प्राप्तिको भर्‍याङ वा निहित स्वार्थ पुर्ति गर्ने माध्यम बनाउनु हुँदैन। यो अभियानलाई कसैसँगको प्रतिशोध साध्ने, कुनै माग वा स्वार्थ पुरा नभएको झोक पोख्ने वा छुद्र अभिव्यक्ति दिने साधन बनाउनु हुँदैन। राजसंस्था र हिन्दुराष्ट्र स्थापनाको अभियान कुनै दल व विचारको विरुद्ध केन्द्रित हुनु हुँदैन। प्रजातन्त्र वा दलहरुको विकल्प राजसंस्था होइन। सबै राजनीतिक दल र विचार अटाउने व्यवस्था मात्र नेपाल र नेपालीको हितमा हुनेछ। राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको मान्यता सबै नेपालीको साझा आदर्श बनाउनु पर्दछ।’

 

मंसिर २, २०८० मा प्रकाशित