images
images

भूकम्प पीडितलाई सहयोग गर्न एमालेको पठायाे स्वयंसेवक टोली जाजरकोट

काठमाडौं । गत कार्तिक । १७ गते गएको जाजरकोट भूकम्पका कारण घरबारविहीन भएका पीडित जनताका लागि अस्थायी आवास निर्माणका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्वयंसेवक टोली जाजरकोट प्रस्थान गरेको छ । एमाले केन्द्रीय सदस्य तथा पार्टीको केन्द्रीय विपद व्यवस्थापन तथा स्वयं सेवा विभागका प्रमुख किरण पौडेलको नेतृत्वमा स्वयंसेवक टोली जाजरकोट प्रस्थान गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल लगायत नेताहरूले पार्टीको केन्द्रीय कार्यालयबाट स्वयंसेवक टोलीलाई विदाई गरेका छन् । अध्यक्ष ओलीले स्वयंसेवक टोलीलाई राष्ट्रिय झण्डाका साथै बन्दोवस्तीका सामानहरू ज्याकेट, हेल्मेट, अस्थायी घरटहरा निर्माणका लागि आवश्यक औजार लगायत सामग्री प्रदान गरी विदाई गरेका थिए।

स्वयंसेवक टोलीले केही राहत सामग्री पनि लिएर गएको छ । यस अघि एमालेको जनसंगठन नेपाल ट्रेड युनियन महासंघ .(जिफण्ट)ले जाजरकोटमा भूकम्पले भत्काएका, क्षति पुर्याएका घरहरूका भग्नावशेष व्यवस्थापनको काम शुरु गरिसकेको छ । पार्टीका पोलिटव्यूरो सदस्य तथा जिफण्टका महासचिव विनोद श्रेष्ठको नेतृत्वमा भग्नावशेष हटाउने काम शुरु गरिएको हो ।

एमालेको गत कात्तिक २२ गते बसेको २५औँ सचिवालय बैठकले कात्तिक १७ गते राती गएको भूकम्पले ठूलो क्षति पुर्याएका जाजरकोट र रुकुममा एकहजार जना स्वयंसेवक पठाउने र भूकम्पका कारण घर भत्केर त्रिपालमुनि बसेका जनताका लागि न्यानो अस्थायी घरटहरा बनाउने निर्णय गरेको थियो ।

२०७२ सालको विनाशकारी भूकम्पका समयमा पनि एमालेले लगायतका अन्य दलहरुले  भूकम्प पीडितका लागि अस्थायी घरटहरा निर्माण गर्न स्वयंसेवक परिचालन गरेका थिए ।